काठमाडौँ । वातावरण मूल्याङकनका न्यूनतम मापदण्ड पनि पूरा नगरी जथाभावी नदीजन्य सामग्री उत्खनन् गर्ने क्रम देशभरी बढेको छ । कैलालीको गोदावरी खोलामै क्रसर उद्योग सञ्चालन गरेको भेटिएको छ भने कर्णाली नदीमा २४ सै घण्टा दर्जनौँ डोजर चल्दा नदीको वहाव नै परिवर्तन भइ नजिकका वस्ती उठ्नु पर्ने परिस्थिति सिर्जना भएको जिल्ला समन्वय समितिको अनुगमनको प्रतिवेदन सार्वजनिक भएको छ ।
मोरङको एउटै वडामा चार वटा क्रसर उद्योग सञ्चालन भएपछि हल्ला र धुलोले नजिककै रहेको एउटा माध्यामिक विद्यालय सहित दुई वटा अरु निजी क्षेत्रका बोर्डिङ स्कुलको पठनपाठन समेत प्रभावित हुन पुगेको जिल्ला समन्वय समिति मोरङको प्रतिवेदन दिएको छ । महोत्तरी, रौतहट, बारा, मकवानपुरतिरको कुरा गर्दा नियम कानूनको पालना त के कुरा गर्नु ? दिनभरी हुने हल्ला र धुलो उडेर बस्ती नै उठ्नु पर्ने परिस्थिति सिर्जना भएका छन् ।
यस्तो किन भइरहेको छ ? जिल्ला समन्वय समिति मोरङको प्रतिवेदनमा भनिएको छ, स्थानीय तहले राजस्वको मुख हेरेर सिङ्गो खोला नै बेचिदिएको छ । अनि ठेकेदारको रजाई खोलाभित्रै चलिरहेको छ । खोलामा रजाई गर्नेहरु हिजो के थिए, को थिए ? अध्ययनको विषय भएन, अहिले सत्ताको नजिकका नातागोता पो देखिए । सत्ताको आडमा गर्न नहुने काम पनि गरिएको भेटियो ।
उता खोलामै क्रसर उद्योग सञ्चालन भएको देखेपछि कैलालीको जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले एउटा वक्तब्य दिए, अनुगमन लगत्तै । यो त अत्ति नै भयो, खोलामै क्रसर उद्योग राखेर मनमर्जि गर भनेर त कसैले भनेको छैन होला । दोहनको पनि हद हुन्छ, हामीले यही बस्नुछ, बाँच्नु छ, यो वातावरण अनि स्रोत हाम्रै हो भन्ने पनि हेक्का राख्न नसकेको पो देखियो, यो तत्काल रोकिनुपर्छ ।
यी त केही उदाहरण मात्र हुन । खोलाको कसरी दोहन भइरहेको छ भन्ने कुराको । चितवन जिल्ला पनि खोलाको दोहनबाट अछुतो रहन सकेको छैन । जति खोला त्यति क्रसर उद्योग हुन थालेको भान हुन थालेको छ अहिले चितवनमा पनि ।

यसैबीच इच्छाकामना गाउँपालिका ७ मा पर्ने भालुमारा स्याङदी खोलामा लागेको ठेक्का कम्पनीले न्यूनतम वातावरण मुल्याङकन पनि पूरा नगरेको भन्दै जिल्ला अनुगमन समन्वय समितिले रोक लगाउन निर्देशन दिएको थियो । ठेक्का कम्पनीले खोलाको दायाँवायाँ ठुला खाल्टो गरेर अत्याधिक सामग्री उठाएको अनुगमन समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले जानकारी दिनुभयो ।
मापदण्ड विपरित नदीजन्य सामग्री उठाएको भन्ने सूचना आएपछि स्थलगत अध्ययन गर्दा सोही अनुसारको उत्खनन् गरेकाले हाललाई उठाउन स्थगित गरेको छ’ डल्लाकोटीले भन्नुभयो । नदीजन्य सामग्री उठाउँदा मापदण्डभित्र रहेर मात्र उठाउनुपर्ने हुन्छ त्यसो गरेको पाइएन उहाँले भन्नुभयो । डल्लाकोटीकाअनुसार खोलामा धरै जेसीभी प्रयोग भएको, तोकेको गहिराइभन्दा धेरै खनेको, खन्नुपर्ने स्थानभन्दा बाहिर रहेर खनेको जस्ता नियमभन्दा बाहिर रहेकालाई अहिले तत्काल नउठाउन भनेका छौ ।
सूचना पाएपछि जिल्ला समन्वय समितिबाट अधिकारीको टोलीले स्थलगत अध्ययन गरेको थियो । अध्ययनका क्रममा नदीको वीच भागबाट उठाउनुपर्नेमा दायाँवाया गएको, आठ फिटभन्दा गहिरो खनेको, नदीको धार नै परिवर्तन गरेर भोली सम्भाव्य दुर्घटना हुने पाइएको टोलीका एक सदस्यले जानकारी दिनुभयो । स्थलगत अध्ययन गरेर ठुला खाल्टो बनाएको ठाउँमा पुर्नका लागि निर्देशन दिएको थियो । समितिले दिएको निर्देशनलाई अटेर गरी सामान्य ग्रावेल हालेर खाल्टो छाडेकाले पुन पुर्न निर्देशन दिएको छ ।
खोलाबाट गिटी, बालुवा, ढुङगा सामग्री उठाउँदा वातावरणको असरको बारेमा पालना गर्नुपर्ने नियम ठेकेदारले पालना नगरेको गुनासो आउने गरेको छ । गुनासो आए पनि यसको प्रभावकारी रुपमा अनुगमन तथा रोक्ने काम भने ज्यादै कम हुने गरेको छ । जिल्लाको अनुगमत टोलीले अवस्थाको बारेमा अध्ययन गरेर बन्द गर्न निर्देशन दिएपछि कार्यालयले पत्र काटेर हाललाई स्थगित गराएको इच्छाकामना गाउँपालिकाकी प्रमुख गीता गुरुङले जानकारी दिनुभयो ।