काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नयाँ बर्षदेखि काठमाडौं – कोलकातासम्मको दोहोरो उडानको भाडा २४ हजार निर्धारण गरेको छ । आफ्नो दोस्रो अन्तर्राष्ट्रिय उडानका रुपमा कोलकाता उडानको अन्तिम तयारीमा रहेको बुद्ध एअरले दोहोरो उडानका लागि २४ हजार रुपियाँ भाडादर निर्धारण गरिएको जनाएको छ ।
आगामी नयाँ वर्ष २०७६ सालको बैशाख २ गते पहिलो उडान गर्ने तयारीमा रहेको बुद्ध एअरले जनाएको छ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजेको समयमा हप्तामा सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने भएको छ । नेपालबाट भारतका वाराणसी लगायतका धार्मिक र सांस्कृतिक स्थानमा तथा भारतबाट नेपालका विभिन्न स्थानको भ्रमणका लागि बुद्ध होलिडेजले होलिडे प्याकेज सञ्चालनमा पनि ल्याएको छ ।
भारतीय पर्यटन बजारलाई नेपाल भित्राउने लक्ष्यका साथ उडान विस्तार गरिएको एअरले जनाएको छ । बुद्ध एयरले देशका विभिन्न भागमा दैनिक चार दर्जनभन्दा बढी उडान सेवा सञ्चालन गरिरहेको छ ।