काठमाडौँ । संरक्षित क्षेत्रको भावी कार्यदिशा तय गर्नका लागि गरिने वार्डेन सम्मेलन यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धारामा हुने भएको छ ।
विगतमा भए, गरेको कार्यहरुको समिक्षा गर्दै भावी कार्यदिशा निर्धारण गर्ने ‘वार्डेन कुम्भ मेला’ को रुपमा लिइने यो सम्मेलन यही फागुन १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का अनुसार वन्यजन्तुको संरक्षण: समृद्धिका लागि पर्यापर्यटन भन्ने नाराका साथ सम्मेलन सुरु गरिने भएको छ । यही नारालाई केन्द्रमा राखेर विगतमा गरिएका प्रयासहरुको समिक्षा गर्दै आगामी कार्यदिशा पनि सम्मेलनले निर्धारण गर्ने छ ।
विशेष गरी विगतका कार्यक्रमहरुको समिक्षा गर्दै आगामी नयाँ रणनीति पहिल्याउने र त्यही अनुरुप कार्यनीति बन्ने र कार्यनीति अनुसार आगामी वर्षको कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने र सम्मेलनमा आएको महत्वपूर्ण पृष्ठपोषकलाई नीति निर्माण गर्दा सम्बोधन गर्न सहज हुने भएकाले हरेक वर्ष यो सम्मेलनको आयोजना गरिने गरिएको छ ।
विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार तीन दिनसम्म चल्ने सम्मेलनमा विभाग, संरक्षण क्षेत्रहरु, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र नेपाली सेनाका तर्फबाट आ आफ्नो कार्यक्षेत्रमा देखिएका समस्या, चुनौती तथा कार्यक्रम बारे कार्यपत्र प्रस्तुत गरिने भएको छ । त्यसका अतिरिक्त नेपालको संरक्षण क्षेत्रमा हाल देखिएका अवसर, चुनौती लगायतका मुद्धामा स्वतन्त्र विषय विज्ञहरुका कार्यपत्र पनि प्रस्तुत गरिने भएका छन् ।
सम्मेलन गरिने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सम्मेलनका लागि आवश्यक तयारीका लागि निकुञ्ज प्रशासन लागि रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलन स्थल, होटल व्यवस्थापन तथा अन्य सबै तयारीका लागि निकुञ्जले काम सुरु गरिसकेको छ ।
प्रस्तुत गरिएका कार्यपत्रमा व्यापक छलफल र अन्तक्र्रियाबाट आगामी वर्षको लागि दिशा निर्देश गर्न सहज हुने अपेक्षा पनि गरिएको छ । सम्मेलनमा २० वटा संरक्षित क्षेत्र र दुई वटा प्राणी उद्यान, १३ वटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, तीन वटा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका पदाधिकारी र नेपाली सेनाको सहभागिता रहने विभागकाले जनाएको छ ।
सम्मेलनको ऐतिहासिक पक्ष
नेपालमा जैविक विविधताको संरक्षण गर्ने उद्धेश्यले विसं २०२८ सालमा वन विभाग अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण शाखाको स्थापना भएको हो । त्यसको १० वर्षपछि २०३८ सालमा त्यो शाखालाई विभागमा रुपान्तरण गरिएपछि पहिलो पटक वार्डेन सम्मेलन गर्ने परम्पराको सुरुवात भएको हो । संरक्षणमा फिल्ड तहमा देखिएका नयाँ, नयाँ चुनौती तथा अवसरको समिक्षा गर्दै ती समस्या तथा चुनौतीलाई सम्बोधन गर्न नीतिगत तहमा लिनु पर्ने कार्यदिशा निर्धारण गर्न तथा संरक्षणमा भए, गरेको सफल र उत्कृष्ट कामको निरन्तरताको सहितको प्रभावकारी आगामी कार्यदिशा तय गर्ने उद्धेश्यले यो सम्मेलन गरिन थालिएको हो ।
नेपाली सेना र मध्यवर्तीको सहभागिता
२०५९ सालदेखि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको व्यवस्था भएपछि २०६४ सालदेखि वार्डेन सम्मेलनमा व्यवस्थापन समितिका पदाधिकारीलाई समेत राखेर कार्यक्रम गर्न थालिएको हो । विशेष गरी राष्ट्रिय निकुञ्ज, आरक्षमा नेपाली सेनाको उपस्थिति पहिले देखि हुँदै आएको भएपनि २०६५ सालदेखि वार्डेन सम्मेलनमा नेपाली सेनाको पनि सहभागिता गरिँदै आएको छ । २०५९ सालदेखि २०६४ सालसम्म वार्डेन सम्मेलन र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीसँगको सम्मेलन अलग अलग गरिँदै आइएको थियो । हाल वार्डेन सम्मेलनमा नेपाली सेनाले सुरक्षाका दृष्टिकोणका कार्यपत्र, मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष तथा सहभागी पदाधिकारीले स्थानीय तहमा व्यवस्थापन गर्न समुदायका तर्फबाट र वार्डेनले समग्र रुपमा आ आफ्ना निकुञ्ज तथा आरक्षको वस्तुस्थितिका बिषयमा सम्मेलनमा प्रस्तुति गर्ने गरेका छन् ।