काठमाडौँ । नेपालको भोटेकोशीको बञ्जिजम्प संसारकै दोस्रो बढी उचाईमा रहेको पर्यटकका लागि साहसिक खेल भएको छ ।
विश्व पर्यटनमा राम्रो दख्खल राख्ने ‘वेभ’ नामक पत्रिकाका अनुसार विश्वको सबैभन्दा अग्लो बञ्जिजम्प दक्षिण अफ्रिकामा छ । त्यहाँको बञ्जिजम्पको उचाई २२० मिटर रहेको छ । भोटेकोशीको बञ्जिजम्प १६० मिटरको उचाइमा विश्वको दोस्रोमा पर्दछ ।
निकै रोमाञ्चकारी र साहसिक रूपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जिजम्प संसारका उत्कृष्ट स्वच्छ पानीको नदीमा मध्यमा पर्ने भोटेकोशी माथिको पुलबाट खेल्ने गरिन्छ ।
प्रहरीका लागि बञ्जिजम्प अनिवार्य
अब नेपाल प्रहरी अधिकृतको सेवा प्रवेश तालिममा बञ्जिजम्प अनिवार्य गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९ औँ समूहका प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जिजम्प गरेका छन् । प्रहरीलाई विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हँुदा बञ्जिजम्प अनिवार्य गरिएको प्रतिष्ठानका प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलले बताउनुभयो ।
भोटेकोशी गाउँपालिका–५ मार्मिङ र वडा नं १ लिस्ती जोड्ने उक्त बञ्जी द लाष्ट रिसोर्ट प्रालिद्वारा नेपाली व्यवसायी विष्णुप्रसाद न्यौपाने र नेदरल्याण्ड नागरिक डेविडले विसं २०५६ देखि सञ्चालनमा ल्याउनुभएको थियो । हाल दैनिक एक हजार २०० सम्म बञ्जी गर्न आउने र त्यसमध्ये ८५ प्रतिशत स्वदेशी रहेको व्यवस्थापक कुमार राउतले जानकारी दिनुभयो ।