निकुञ्जभित्र पोखरी निर्माण गर्न शुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई लक्ष गरी निकुञ्जभित्र पोखरी निर्माण गर्ने काम शुरु भएको छ ।

निकुञ्जले वन्यजन्तुका लागि पानी पिउन र पैडिन मिल्ने गरी ६० वटा पोखरी निर्माण गर्न थालेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जभित्र करीब १०० भन्दा बढी प्राकृतिक अवस्थाका ताल छन् । “यो वर्ष नेपाल सरकारको नियमित कार्यक्रमअन्तर्गत ६० वटा थप पोखरी निर्माण गर्न ठेक्का लगाइसकेका छाँै” उहाँले भन्नुभयो, “त्यो काम शुरु भइसकेको छ । आगामी असार मसान्तसम्ममा सबै पोखरी निर्माण गरेर सक्ने सम्झौता भएको छ ।” यी बाहेक अन्य थप १० पोखरीको मर्मतसम्भारका कामसमेत हुने प्रमुख संरक्षण अधिकृत ढकालले बताउनुभयो ।

यस आर्थिक वर्षभित्रमा निकुञ्जले नयाँ र पुराना गरी ७० पोखरी निर्माण गरिने उहाँको भनाइ छ । नयाँ निर्माण गरिने पोखरीका लागि प्रतिपोखरी रु दुई लाखका दरले बजेट निकासा भएको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिनुभयो । “नयाँ पोखरी निर्माणका लागि रु एक करोड २० लाख बजेट आएको छ”, उहाँले भन्नुभयो, “पुराना पोखरी मर्मतका लागि प्रतिपोखरी रु एक लाखदेखि पाँच लाखसम्म बजेट प्राप्त भएको छ ।” ठूला खालका पोखरीलाई रु पाँच लाखको लागतमा सरसफाइ र मर्मत गर्ने उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत ढकालले साना खालका पोखरीलाई रु एक लाखको परिधिमा रहेर मर्मत र सरसफाइ गरिने बताउनुभयो ।

पोखरी निर्माण कार्यलाई निकुञ्जको पश्चिम सेक्टरमा बढी प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो । “पश्चिम क्षेत्रमा गैँडाको चाप बढी भएकाले हामीले त्यस क्षेत्रमा पोखरी निर्माणका लागि केन्द्रित गरेका छौँ”, प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो, “पोखरी सँगसँगै घाँसे मैदान व्यवस्थापनको कामसमेत अगाडि बढेका छन् भने केही अगाडि बढ्ने क्रममा छन् ।” गत वर्ष निकुञ्जमा आएको बाढीका कारणले वासस्थान बिग्रिएकाले जनावरको वासस्थान सुधार गर्नका लािग निकुञ्जको ध्यान केन्द्रित भएको उहाँले बताउनुभयो ।

अन्य निकुञ्जको तुलनामा चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा पानीको खासै समस्या नभए पनि पूर्वी सेक्टरमा सुख्खापन बढ्दै गएको प्रमुख संरक्षण अधिकृत ढकालको भनाइ छ । “निकुञ्जको सौराहाभन्दा पूर्वको क्षेत्रमा पोखरी सुक्ने समस्या देखिने गरेको छ, तर त्योभन्दा पश्चिमको क्षेत्रमा हामीले पोखरीलाई राम्रोसँग व्यवस्थापन ग¥यौँ भने पानीको खासै समस्या छैन”, उहाँले भन्नुभयो, “पश्चिम क्षेत्रको पोखरीमा चुरेबाट आउने पानीको मुहानलाई सफाइ गर्दै जोड्न सकेको खण्डमा त्यस क्षेत्रमा पानीको कुनै पनि समस्या हुँदैन ।” यद्यपि सौर्य ऊर्जाबाट पोखरीमा पानी थप गर्ने रणनीतिमा निकुञ्ज पुगेको पनि प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिनुभयो ।

राप्ती नदीमा पानीको सतह घट्दै गएकाले भविष्यमा सुख्खा समस्याको रुपमा देखिन सक्ने उहाँको भनाइ छ । “१० वर्ष अगाडिको भन्दा अहिले राप्तीमा पानीको सतह धेरै घटेको पाइएको छ”, प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो, “राप्तीको जलाधार क्षेत्रको संरक्षणमा ध्यान दिन सकिएन भने भविष्यमा यसले निकुञ्जलाई नै समस्यामा पार्न सक्छ ।” विस्तारै पानीको सतह घट्दै गएकाले पानीको सतह घट्न नदिनका लागि मुहानदेखि नै यसको संरक्षणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here