तनहुँ । व्यास नपा–१० खहरे स्थित ढुंगाखानीबाट सिमेन्ट उद्योगको लागि खानी सञ्चालन गर्दा सिंगो बस्ती नै उठिबास हुनु पर्ने अवस्था सिर्जना भएको छ ।
काठमाडौं स्थित बाराही क्वेरिज प्रालिले स्थानीय केही व्यक्तिहरुबाट जग्गा खरिद गरि चार महिना अघिदेखि उक्त स्थानमा चुन ढुंगा उत्खनन गरिरहेको छ । गाउँ नजिकैबाट निकालिएको ढुंगा ओसार्नको लागि रातदिन लगातार रुपमा ठुला ट्रकहरुको ओहोर दोहोरले धुलो उडेर बस्तीको उठिबास हुने अवस्था आएको स्थानीय हिमालय वाग्लेले बताउनुभयो ।
धुलोले घरमै बस्न नसकिने अवस्था भएको भन्दै उहाँले धुलोको कारण विरामी पर्न थालिसकेको बताउनु भयो । ढुंगा ओसार्न दैनिक ५० वटा भन्दा बढि ठुला ट्रकहरु दैनिक ओहोर दोहोर गर्ने र त्यतीकै संख्यामा टिपर र ट्याक्टरहरु समेत आउने जाने गर्नाले धुलोले घरमा बस्न नसकिने अवस्था रहेको उहाँको भनाई छ । धुलोले खाना, कपडा र घर भित्रका कुनै पनि सामान सुरक्षित नभएको अर्का स्थानीय उमाकान्त ढुंगानाले बताउनु भयो । अनुमती पाईयो भन्दैमा बस्तीलाई नै प्रभावित पारेर यस्तो गैरकानुनी काम गर्न नपाईने उहाँको भनाई छ । चार महिना अघि ढंगा उत्खनन सुरु गर्ने क्रममा खानी स्थलसम्म जाने बाटोमा धुलो उड्न नदिनको लागि दैनिक नियमित पानी हाल्ने, भु–क्षय रोक्नको लागि सडकको छेउमा रुखहरु रोप्ने सम्झौता भएपनि अहिलेसम्म ति सम्झौताहरु कुनै कार्यान्वयन नभएको अर्का स्थानीय श्रीकृष्ण वाग्लेले बताउनु भयो ।
धुलोले बालबालिकाहरुमा रुघा खोकी जस्ता समस्या भईसकेको आशा ढुंगानाले बताउनु भयो । धुलोले कपडा बिग्रिएपछि बालबालिकाहरु विद्यालय जान नै नमान्ने उहाँले बताउनु भयो । ‘कसैलाई व्यापार गरेर पैसा कमाउनु प¥यो भन्दैमा यसरी स्थानीय बासिन्दालाई मर्कामा पार्न कहाँ पाईन्छ ?’ उहाँले भन्नु भयो ‘यसबारेमा वडा अध्यक्षलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई भएको छैन ।’ अव एक दुई दिन सम्म पनि आफ्नो गुनासो सुनुवाई नगरे बाटोमा रुखहरु तेस्र्याएर बाटो नै बन्द गर्ने चेतावनी गाउँलेहरुले दिएका छन् ।
हाल स्थानीय केही व्यक्तिबाट ३ सय रोपनी जग्गा खरिद गरि ढुंगा निकाल्न थालेपनि कम्पनीको आँखा भने सामुदायिक बनमा गढेको स्थानीय बासिन्दाको आरोप छ । जंगल भित्र चुन ढुंगा प्रसस्त भएपछि पहिला व्यक्तिको जग्गा खरिद गर्ने र भविष्यमा जंगल नै मास्ने उद्धेश्य राखेको नाम नबताउने सर्तमा एक स्थानीयले बताउनु भयो । कम्पनीले अहिले जथाभावी रुपमा ढुंगा उत्खनन गरेको र जंगल मासेर मापदण्ड बिना सडक समेत बनाएको हुँदा अवको वर्षाको समयमा ठुलो पहिरोको जोखिम रहेको पनि ढुंगानाले बताउनु भयो ।
खानीबाट उत्खनन भएको उक्त ढुंगा भैरवहा स्थित अर्घाखाँची सिमेन्ट उद्योगमा लगिने कम्पनीका एक प्रतिनिधिले बताउनु भयो । दैनिक ५० वटा भन्दा बढि ट्रकले उक्त चुन ढुंगा सिमेन्ट उद्योगसम्म ओसारिईरहेका छन् । कम्पनीले उक्त स्थानमा चुन ढुंगा निकाल्न खानी तथा भुगर्व विभागबाट २० बर्षको लागि अनुमती लिएर काम सुरु गरेको हो । तर खानीसम्म पुग्नको लागि स्थानीय छाङ्ग बाराही सामुदायिक वनको क्षेत्र मासेर सडक समेत बनाईएको छ । सामुदायिक वनसँग कुनै अनुमती नै नलिईकन बाटो खनिएको उपभोक्ताहरुले बताएका छन् । वन उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद भुषालले कम्पनीलाई बाटो दिने बारेमा कुनै निर्णय नभएको बताउनु भयो । तर वडा कार्यालय र डिभिजन वन कार्यालयले अनुमती दिए नदिएको बारेमा भने आफुलाई जानकारी नभएको उहाँको भनाई छ ।
व्यास नपा १० का वडा अध्यक्ष तुल्सीराम सापकोटाले सो कम्पनीले सबै निकायबाट अनुमती लिएर नै काम सुरु गरेको बताउनु भयो । तर ढुंगा ओसार्ने क्रममा धुलो उडेमा त्यसलाई व्यवस्थापन गर्ने काम पनि कम्पनीकै भएको उहाँले बताउनु भयो । धुलोले बस्तीमा पु¥याउने असरको क्षतीपर्तुी स्वरुप टोल विकास संस्थालाई वार्षिक ६ लाख ५० हजार रुपैयाँ बुझाउने सहमती पनि भएको वडा अध्यक्ष सापकोटाले जानकारी दिनु भयो । तर उक्त सम्झौताको बारेमा कुनै जानकारी नभएको भन्दै स्थानीय पदमप्रसाद वाग्लेले टोलका पदाधिकारीहरुले प्रतक्ष्य प्रभावित क्षेत्रका व्यक्तिहरुसँग सल्लाह नै नगरी पैसामा सम्झौता गरेको आरोप लगाए । स्थानीय बासिन्दाले वडा अध्यक्ष सापकोटाकै मिलेमतोमा उक्त कम्पनीलाई जथाभावी ढुंगा उत्खननको लागि अनुमती दिईएको आरोप लगाएका छन् ।
तनहँुका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले कम्पनीका आधिकारिक व्यक्तिलाई पटक–पटक कार्यालयमा बोलाई प्रक्रियागतरुपमा मात्र काम गर्न निर्देशन दिएको बताउनु भयो । स्थानीयको गुनासोको बारेमा आफुले पनि मौखिक जानकारी पाएको भन्दै प्रजिअ शर्माले लिखित उजुरी आएमा कारवाहीको प्रक्रिया थाल्न आफुलाई सहज हुने बताउनु भयो । ‘कसैले पनि स्थानीय बासिन्दालाई असर पारेर काम गर्न पाउँदैनन’्, प्रजिअ शर्माले भन्नु भयो ‘खानी सञ्चालनको पनि एउटा मापदण्ड हुन्छ, त्यसलाई पालना गर्नु पर्छ ।’