बेंसीसहर–चामे सडक खुल्यो

चामे । पछिल्लो हिमपातले करिव तीन साता सम्म अवरुद्ध हिमाली जिल्ला मनाङ जाने बेंसीसहर–चामे सडक खुलेको छ ।

बेंसीसहरबाट चामेसम्मको सडक ६५ किलोमिटर छ । हिमपातपछि मनाङको नासों गाउँपालिका ९ दानाक्यूसम्मको करिव ४४ किलोमिटर सडक मात्रै सञ्चालनमा थियो । दानाक्यूदेखि चामेसम्मको सडकका हिउँ फाल्नुका साथै हिमपहिरो पन्छाएपछि चामेसम्म सडक खुलेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताउनुभयो । सडक खुलेसंगै सवारी आवागमन हुन थालेको छ । ‘हिमपातपछि हामी ज्यादै उकुसमुकुस भएर बस्न बाध्य थियौं । जानेआउने बाटो थिएन । जोखिम थियो’ उहाँले भन्नुभयो, ‘अहिले सडक खुलेको छ । मानिस आवातजावत हुन थालेका छन् । विदामा गएका कर्मचारी पनि फर्किन थालेका छन् ।’

पछिल्लो समय फागुन १५ गतदेखि ३ दिन लगातार हिमपात भएको थियो । हिमपातका कारण चामे गाउँपालिका ३ कोतो नजिकैको तिर्चुङाल्डामा खसेको हिमपहिरो हटाएको छ । यसअघि ढुंगा खसेर अवरुद्ध भएर खुलाइएको तिमाङ र थान्चोकबीचको स्याक्र्युखोलामा पुनः ढुंगा भासिएको थियो । उक्त ठाउँमा फराकिलो बनाउनुका साथै हिमपातले ढालेका रुख साथै सडकका हिउँ हटाएपछि सवारी साधन आवागमन भएको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार स्थानीय प्रशासनको समन्वयमा सडक डिभिजन कार्यालय, स्थानीय तहको सहयोगमा सडक खुलाइएको हो । सडक खुलाइएपछि जनजीवन सामान्य अवस्थामा फर्किन थालेको उहाँले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण मनाङका प्रमुख बाबुलाल तिरुवाले सडक खुलेसंगै पर्यटक आगमन शुरु भएको बताउनुभयो । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बाटो खुलेसंगै सहज हुन थालेको बताउनुभयो । उहाँका अनुसार मानिस आवातजावत साथै खाद्यान्य सामाग्री ढुवानी हुन थालेको छ । चिसो छल्न मङ्सिर– पुसतिर जिल्ला बाहिर सहरबजार गएका स्थानीय फर्किन थालेका छन् । ‘बिदामा गएका कर्मचारी साथै जनप्रतिनिधि समेत हिमपात हुँदा सहरबजारमै रोकिए । गाउँबाट सहर झर्न खोज्नेहरु घरभित्रै थुनिए’ उहाँले भन्नुभयो, ‘हिमपात बन्द भयो । मौसम खुल्यो । सडक सुचारु भएपछि जनजीवन सहज बन्न थालेको छ ।’

मनाङमा यसबर्ष पुस २३ गतेदेखि हिमपात भएको थियो । चार दिन लगातार परेको हिमपात परेपछि माघ ७ गतेसम्म रोकिएको थियो । माघ ८ गतेदेखिको हिमपातले फागुन २ गतेसम्म सडक अवरुद्ध भएको थियो । त्यतिबेला अवरुद्ध सडक फागुन ३ गते खुलेको थियो । पुनः फागुन १५ गतेदेखि हिमपात हुँदा सडक पुनः अवरुद्ध भएको थियो । लामो समयसम्म सडक अवरुद्ध हुँदा मनाङमा खाद्यान्य संकटको स्थिति आउन थालेको थियो । ‘अहिले मानिस आउजाउ हुन थाल्यो । खाद्यान्य लिएर जीप आउन थाले’ प्रजिअ देवकोटाले भन्नुभयो, ‘माथिल्लो मनाङमा सडक खुलाउन डोजर प्रयोग गरिएको छ । अब सडक छिट्टै खुल्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here