राष्ट्रिय सभाबाट चार विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको बिहीवारको बैठकले चार विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक २०७५’ छन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले भूउपयोग विधेयक प्रस्तुत गर्नुभएको थियो ।

विधेयकमाथिको छलफलमा ठगेन्द्रप्रकाश पुरी, राधेश्याम अधिकारी, रामनारायण बिंडारी, अनिता देवकोटा, दुर्गाप्रसाद उपाध्याय र बृन्दादेवी आलेले भाग लिँदै जमीनको प्रभावकारी वर्गीकरणको आवश्यकता औँल्याउनुभयो । मन्त्री अर्यालले कृषियोग्य जमीन बाँझो नछाड्न र भूउपयोगलाई व्यवस्थित गर्न विधेयक आएको हो भन्नुभयो । उहाँले जमीनको परीक्षणका आधारमा उपयोगिता र वर्गीकरण गरिने स्पष्ट पार्नुभयो ।

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) २०७५’ विधेयक पनि स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक चैत ४ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here