शुक्लाफाँटामा महोत्सव शुक्रबारदेखि

महेन्द्रनगर । पर्यटनको प्रचुर सम्भावना रहेको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गर्ने उद्देश्यका साथ शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ । निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि भीमदत्तनगरपालिकाको संयोजन र यहाँका नौवटै स्थानीय तह आयोजक रहने गरी यही चैत १५ देखि २१ गतेसम्म महोत्सव हुन लागेको हो ।

महोत्सवमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, नाटा सुदूरपश्चिम, होटल व्यवसायी सङ्घ लगायतको सहकार्य छ । नगर प्रमुख सुरेन्द्र विष्टले निकुञ्ज आन्तरिक र बाह्य पर्यटकका लागि महत्वपूर्ण क्षेत्र भएकाले प्रचारप्रसार गर्न ‘जाउँ है शुक्लाफाँटा’ अभियान अन्तर्गत महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि पर्यटन मार्ग निर्माण, झोलुङ्गे पुल नजिक उद्यान र पार्क निर्माण, राना थारु होमस्टे प्रवद्र्धनका लागि सहयोग समेत गरिने बताउनुभयो । नेपाल भ्रमणवर्ष २०२० लाई सफल बनाउन २०१९ लाई नगरपालिकाले प्रचार र पूर्वाधार वर्ष घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवका लागि नगर प्रमुख विष्टको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ ।

सो निकुञ्ज ३०५ वर्ग किमीमा फैलिएको विश्वको सबैभन्दा ठूलो बथानमा बाहसिङ्गा, दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतीको लागि प्रसिद्ध छ । महोत्सव अवधि भरी नेपाल तथा भारतका विभिन्न ठाउँबाट पर्यटक अवलोकनका लागि आउने आयोजकको अपेक्षा छ । महोत्सव सञ्चालनका लागि रु १६ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here