चमेलियाको छेऊ: जहाँका गाउँ अन्धकार छन्

खलंगा।  दार्चुला जिल्लामा मात्रै ३० मेगावाटको चमेलिया जलबिद्युत, नौगाड साढे ८ मेगावाट आयोजनासहित सहायक जलबिद्युतहरु र दर्जनौं ग्रामिण लघु जलविद्युत्का आयोजना रहेका छन् तर यस जिल्लाका करिव ७० प्रतिशत बासिन्दा जलविद्युत्बाट बञ्चित रहेका छन् ।

ग्रामिण बिद्युतिकरणका लागि २०७०/०७१ सालदेखि ठेक्का सम्झौता भएका क्षेत्रमा समेत पुरा काम भएको छैन । ३० मेगावाट बिजुली उत्पादन हुने दार्चुलाका गाउँहरु अझै अन्धकारमा रहेका छन् । जिल्लाका ९ वटा स्थानीय तहमध्ये पाँच वटा गाउँपालिकाका बासिन्दा अझै पनि टुकी बाल्न बाध्य छन् । जिल्लाको अपिहिमाल, नौगाड, लेकम, व्यास र दुहुँ गाउँपालिका सदरमुकाममा पनि विद्युत सेवा अझै पुग्न सकेको छैन ।

जिल्लाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन र मार्मा गाउँपालिका र सदरमुकामका बासिन्दाले भने उज्यालो देख्न पाएका छन् ।सक्ने व्यक्तिले घरको धुरीमा सोलार प्यानल झुण्डयाएका छन् भने नसक्ने विपन्न व्यक्तिका घरभित्र टुकी देख्न सकिन्छ ।

राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको र अरु कार्यालयका काम पनि प्रभावित भइरहेको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बिजुली नहुँदाको पीडा सुनाउनुभयो ।

लेकम गाउँपालिकाको वडा नम्बर ३ मा भारतीय बजारबाट विद्युत् आयात गरिएको छ ।नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र दार्चुलाका प्राबिधिक प्रमुख मिनराज पन्तका अनुसार अधिकांश नेपाल टेलिकमको रिपिटर टावर र रिले टावर समेत सोलारकै भरमा चलिरहेका छन् । घाम नलागे सोलारले काम नगर्ने र टेलिफोन पनि हप्तौसम्म नचल्ने समस्या भोग्नुपरेको उहाँको भनाई छ ।

भारतीय बजारबाट महाकाली नगरपालिकाका साथै लेकम, मालिकार्जुन, दुहुँ र ब्यास गाउँपालिकाको केहि वडामा बिस्तार भएको विद्युत समेत अनियमित र कम क्षमताको हुँदा सेवाग्राहीहरुको दैनिक कामकाज प्रभावित हुने गरेको छ ।

विद्युत नपुगेका पाँच ओटा गाउँपालिकामा जडान गरिएका कम्प्युटरले घाम लागेको दिनमा मात्र काम गर्ने हुँदा सेवाग्राहीले निकै दुख्ख पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here