फाप्लुमा विमानको चाप बढ्यो

सोलुखुम्बु । जिल्लाको फाप्लु विमानस्थलमा विमानको चाप बढेको छ । मौसम प्रतिकूलताका कारण तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि आएका विमानसमेत ‘डाइभर्ट’ भई फाप्लु आउने गरेकाले यहाँ विमानको चाप बढेको हो ।

करीब चार दिनदेखि खुम्बुको मौसममा खराबी आउँदा लुक्ला जाने विमान पनि फाप्लुमा अवतरण भएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ । नियमितरूपमा तीनदेखि चार वटा मात्र विमान आवतजावत हुने फाप्लु विमानस्थलमा हाल १२ देखि १५ विमान अवतरण हुने गरेको छ । बुधबार मात्रै १२ विमानले उडान गरेका छन् । मौसममा आएको परिवर्तनले लुक्लाका लागि उडेका विमान फाप्लुमा अवतरण गर्नुपरेको फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । फाप्लु ओर्लेका यात्रुलाई हावाको गति कम भएको समयमा लुक्ला पु¥याउने कार्य भएकोसमेत उहाँको भनाइ छ ।

बिहान लुक्ला विमानस्थलमा हिउँको थुप्रो लाग्ने र दिउँसो हावाको तीव्रता बढेकाले फाप्लुमा अवतरण गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले बताउनुभयोे । मौसम प्रतिकूलता भएपनि बुधबार लुक्ला विमानस्थलमा ४० वटा उडान भएको उहाँको भनाइ छ । अहिले हिमाल आरोहणको ‘सिजन’ शुरु भएकाले अधिकांश उडानबाट पर्यटक तथा हिमाल आरोही एवं सामग्री आउने गरेका छन् । खुम्बु क्षेत्रमा आरोहणको समय भएकाले लुक्लामा हवाई उडानको चाप बढेको बताइएको छ । लुक्लाको विकल्पमा सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल प्रयोग गर्ने गरिएको छ ।

फाप्लु विमानस्थलमा अवतरण गराइएका केही पर्यटक गाडीमार्फत खुम्बुपासाङल्हामु गाउँपालिका–१ खरिखोलासम्म जीपमार्फत जाने गरेका छन् । खरिखोलादेखि नेपालीका लागि एक र विदेशीका लागि दुई ‘क्याम्प’मा लुक्ला पुग्न सकिने दलित समुदायका तर्फबाट पहिलो सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here