ह्वात्तै बढ्यो बैंकिङ ठगी कसुर

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीको कार्यकक्षमा एक युवक फाइल बोकेर दर्ता चलानी गर्न पुगे । “चेक बाउन्स भो सर,” बोगटीले सोध्नुभयो, “कति रकमको ?” “रु आठ लाखको सर,” युवाले जवाफ फर्काए । बोगटीले हस्ताक्षर गरेर मुद्दा फाँटमा पठाउनुभयो ।

यस्तै एक पेट्रोलपम्पका कर्मचारी त्यसैगरी फाइल बोकेर आए । उनको पनि एक पम्पसञ्चालकले रु पाँच लाख लगेर खातामा पैसा नभएको चेक दिएका थिए । सोही समयमा अर्का व्यक्ति पनि रु दुई लाख ठगेको भन्दै प्रहरी परिसरमा जाहेरी दिन आइपुगे ।

आज दिउँसो पाँच मिनेटको अन्तरालमा परिसरमा भएका तीन मुद्दाका जाहेरीले समेत बैंकिङ कसुरको अवस्था चित्रण गर्छ । परिसरका प्रवक्ता होवीन्द्र बोगटीका अनुसार रु पाँच करोडभन्दा बढी रकम यसैगरी ठगेका घटना छन् । काठमाडौँको बूढानीलकण्ठका जग्गा व्यापारीले कारोवारको सिलसिलामा यसरी पैसा लगेको र पछि चेक बाउन्स भएको भन्दै उजुरी परेको छ ।

“रु पाँच करोड ५० लाखको ठगीमा जाहेरी परेको छ, पाँच दिनदेखि हामी अनुसन्धानमै छौँ, अहिले यस्ता बैंकिङ् ठगीका मुद्दा ह्वात्तै बढेका छन्” बोगटीले भन्नुभयो । उक्त मुद्दाका आरोपी अहिले प्रहरीको हिरासतमा छन् । परिसरमा अहिले अन्यभन्दा अधिक मुद्दा बैंकिङ ठगीका छन् ।

बोगटीले भन्नुुभयो, “व्यक्तिलाई चेक दिन असाध्यै सहज हुन्छ, चेक दिएको भान हुन्न, जतिको पनि चेक काट्न तयार हुन्छन्, पैसा तिर्ने बेलामा समस्या पर्छ, पहिले जस्तो छैन, अहिले कानून कडा छ ।” कानूनबारे थाहा नहुँदा यस्ता घटना बढिरहेका छन् । चेक बाउन्सको मुद्दा पहिले देवानी अदालतमा जान्थ्यो ।

अहिले सिधै फौजदारी अपराधअन्तर्गत मुद्दा चल्छ । साठी दिन हिरासतमै राखेर अनुसन्धान गर्न सक्ने अधिकार प्रहरीलाई प्राप्त भएको छ । चेकमा गम्भीर बनिएन भने जो सुकै पनि थुनामा पर्छ । बिगोसहित जरिवाना र क्षतिपूर्तिसम्मको कानूनी व्यवस्था रहेको परिसरका निमित्त प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकरी दिनुभयो । उहाँका अनुसार दोषीलाई तीन वर्षसम्म कैदसमेत हुनसक्छ ।

महानगरिय प्रहरी परिसरका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ठगी मुद्दामा २१५ उजुरी पर्दा बैंकिङ कसुरका मुद्दा ६ वटा थिए । आर्थिक वर्ष २०७३/७४ मा ठगीका १४० र बैंकिङ कसुरका १० उजुरी परेका थिए । आव २०७४/७५ मा ह्वात्तै बढेर बैंकिङ कसुरका मुद्दा ४२१ पुगे । अन्य ठगीका मुद्दा २१७ मात्रै रहेको तथ्याङ्क छ ।

चालू आवकोे अहिलेसम्म बैंकिङ कसुरका मुद्दा मात्रै एक हजार नाघिसकेको छ । अन्य ठगीका मुद्दा भने १६१ मात्रै दर्ता भएको परिसरले जनाएको छ । प्रहरीका अनुसार विद्युतीय अपराध र बैंकिङ कसुरका मुद्दा बढ्दो क्रममा छन् । हाउजिङ र वैदेशिक रोजगारसम्बन्धी मुद्दा पनि बढेका छन् । यस्ता घटनामा शुरुमा प्रगाढ सम्बन्ध गाँसेर पैसा लिने गरिएको र पछि आपसमा धोका, गलत र झुक्याएर अपराध हुने गरेको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here