गौरीशंकरमा कैद भएको यो हिउँ चितुवा

काठमाडौँ । गौरीशंकर संरक्षण क्षेत्रमा पहिलो पटक क्यामरा ट्रयापिङमा हिउँ चितुवा परेको छ ।

सो क्षेत्रका लप्चीको जंगलमा राखिएको क्यामरामा एउटा हिउँ चितुवा देखिएको छ । गौरी शंकर संरक्षण क्षेत्रमा यस अघि हिउँ चितुवा रहेको अनुमान मात्र गरिएको थियो तर यसपटक भने यो क्षेत्रमा हिउँ चितुवा रहेको पुष्टि भएको छ ।

संरक्षण क्षेत्र कार्यालयका अनुसार लप्ची उपत्यकामा गत सालको असोज महिनादेखि हिउँ चितुवाको आवतजावत हुने सम्भावित स्थानमा ११ वटा क्यामरा जडान गरिएको थियो । हालै क्यामराले खिचेको तस्विरको अध्ययन तथा विश्लेषण गर्दा तीन वटा तस्विर हिउँचितुवाको भेटिएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

संरक्षण क्षेत्र कार्यालयका प्रमुख सत्यनाराण साहले दिएका जानकारी अनुसार क्यामरामा सुनौलो बिरोलो (गोल्डेन क्याट) हिँडेको भिडियो र थुप्रै तस्विर पनि रेकर्ड भएका छन् । हिउँचितुवा नेपाल लगायतका हिमाली क्षेत्र भएको विश्वका १२ वटा देशमा मात्र पाइने गरेका छन् । विश्वबाट लोप हुने अवस्थामा पुगेको हिउँ चितुवालाई दुर्लभ प्रजातिको रुपमा सूचीकृत गरिएको छ ।

हिउँ चितुवा नेपाल लगायत भारत, चीन, भूटान, पाकिस्तान, अफगानिस्तान, कार्जिकिस्तान, किजिकिस्तान, मंगोलिया, रुस, ताजिकिस्तान र उर्जिकिस्तानमा पाइने गरेको छ । विश्वभरीमा तीन हजार देखि पाँच हजारको संख्यामा यसको संख्या रहेको बताइएको छ भने नेपालमा तीन सयदेखि पाँच सयको संख्यामा हिउँ चितुवा पाइने गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

हिउँ चितुवाको संरक्षणका लागि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले हिउँ चितुवाको अध्ययन अनुसन्धानका लागि पाँच करोड रुपियाँ बिनियोजन गरिने घोषणा समेत गर्नुभएको छ । सो रकमलाई अध्ययन केन्द्र स्थापना, युवा वैज्ञानिक तथा विज्ञलाई हिमाली क्षेत्रमा पाइने वन्यजन्तु र जैविक विविधताको अध्ययनमा आकर्षित गराउने खालका कार्यक्रम सञ्चालन गरिने तत्कालिन सरकारी योजना अलपत्र परेको छ ।

हिउँ चितुवा पाइने देशका सरकार प्रमुख तथा मन्त्रीहरुको नेपालमा भएको हिउँ चितुवाको संरक्षण र जीविकोपार्जन विषयक अन्तराष्ट्रिय सम्मेलनमा सहभागीहरुले नेपालमा हिउँ चितुवा लगायतका हिमाली क्षेत्रमा पाइने वन्यजन्तु र जैविक विविधताको अध्ययन, अनुसन्धान, विकास र संरक्षण गर्नका लागि एक अन्तराष्ट्रियस्तरको अध्ययन केन्द्र स्थापना गर्नमा सहमत जनाएका थिए । सो कार्यका लागि नेपाल सरकारले पाँच करोड रुपियाँ विनियोजन गर्ने घोषणा गरेको हो ।

नेपालले हिउँ चितुवा संरक्षण कार्ययोजना (२०१७–२०२१) हाल कार्यान्वयन गरिरहेको वन तथा वातावरण मन्त्रालयका सहसचिव डा। महेश्वर ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here