विदेशमन्त्री वाङ आइतबार आउँदै,चिनियाँ राष्ट्रपति सी तयारी

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी नेपाल भ्रमणका र राजनीतिक सम्बन्ध विस्तार विभिन्न एजेन्डामा छलफल गर्न विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्।

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० मा भएको सम्झौताको म्याद सकिँदै छ। २०७४ वैशाख २९ मा भएको सम्झौताको म्याद तीन वर्षसम्म मात्र छ। अहिलेसम्म सम्झौताअनुसारका कुनै पनि चिनियाँ परियोजना अघि बढेको छैन। विदेशमन्त्री वाङको भ्रमणलाई बीआरआईको प्रस्तावित परियोजना कार्यान्वयनसँग हेर्न सकिने परराष्ट्र अधिकारीले बताएका छन्।

परराष्ट्र सचिव शंकरदास बैरागीले विदेशमन्त्री वाङको भ्रमणको तिथिबारे अहिल्यै केही बताउन नसकिने बताए। उनले भने, ‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमणमै वाङलाई नेपाल भ्रमणको निम्ता दिएका हौं। बीचमा कुराकानी पनि भएको छ। भ्रमण निश्चित भएपछि दुवै मुलुकले एकैपटक जानकारी दिने प्रचलन छ।’

परराष्ट्र मन्त्रालय उच्च स्रोतले भने विदेशमन्त्री वाङ आगामी आइतबार काठमाडौं आउने बतायो। स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङ यसअघि पनि पटकपटक नेपाल भ्रमण गरेका चिनियाँ राजनीतिज्ञ हुन्। उनी सोमबार फर्कने कार्यक्रम छ।

विदेशमन्त्री वाङले भ्रमण राजनीतिक केन्द्रित बनाउने निश्चित छ। उनले नेपालमा रहँदा समकक्षी ज्ञवालीसँग दुईपक्षीय औपचारिक वार्ता गर्नेछन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

सी कात्तिकमा आउने !

चिनियाँ राष्ट्रपति सी कात्तिक १ मा दक्षिण भारत पुग्ने कार्यक्रम छ। उनले त्यहाँ जाँदा वा त्यहाँबाट फर्कंदा नेपाल भमण गर्न सक्ने भएकाले विदेशमन्त्री वाङको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। सी र भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको उहान वार्ताको दोस्रो चरण आगामी कात्तिकमा दक्षिण भारतमा हुँदै छ।

‘विदेशमन्त्री वाङको भ्रमणले नै राष्ट्रपति सीको भ्रमणको आधार तयार पार्छ’, परराष्ट्रका एक अधिकारीले भने, ‘राष्ट्रपति सी केही घण्टाका लागि आउने भनिएको छ। तर नेपाल एक रात अर्थात् दुईदिने भ्रमणको पहलमा जुटेको छ।’ चिनियाँ सुरक्षा टोलीहरू नेपाल आएर भ्रमणबारे जानकारी लिने र छलफल गर्ने गरेका भए पनि सरकारले यसलाई गोप्य राखेको छ। सुरक्षा निकायको एडभान्स टोलीले वार्ता हुने स्थलदेखि विमानस्थलको सुरक्षा अवस्था सबै अध्ययन गरिसकेको छ। टोलीले नेपालको सुरक्षा निकायसँग पनि वार्ता गरेको अधिकारीहरूले बताए।

सीको नेपाल भ्रमण सीमामा सडक र रेल सञ्जाल विस्तारमा केन्द्रित हुनेछ। यस्तै नेपाल–चीन–भारत त्रिपक्षीय सहकार्यबारे पनि वार्ता हुन सक्ने अधिकारीहरूले बताएका छन्।

आउलान् त सी ?

तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले दुई कार्यकालमा नेपाल भ्रमण गरेनन् भने सीले पनि पहिलो कार्यकाल नेपाल भ्रमण नगरी बिताए। यसपटक भने सी नेपाल आउने संकेत सरकारले पाएको लामै भयो।

सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जमिनपछि हुन नसकेको भ्रमण सुचारु हुनुलाई सरकारी अधिकारीले सुखद भन्दै आएका छन्। सन् २०१२ को आरम्भमा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालमा करिब ५ घन्टा बिताएका थिए। भ्रमणको जानकारी उनी नेपाल आउने दिनमात्र गराइएको थियो। सुरक्षा निकायलाई समेत उनको भ्रमणबारे तीन दिनअघिमात्र जानकारी दिएको तत्कालीन प्रधानसेनापति छत्रमान गुरुङले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। चिनियाँहरू ठूला भ्रमणलाई अन्तिम समयमा मात्र बाहिर ल्याउँछन्।

पछिल्लो समय नेपाल र चीनबीच सैन्य अधिकारीको भ्रमण तथा सम्बन्ध विस्तार बाक्लिएको छ। चीनतर्फ नेपाली सेनाको उच्चस्तरको प्रशिक्षण र नेपाल–चीन सैन्य अभ्यास पनि बढ्दै गएको छ। नेपालमा राजनीतिक, सामाजिक र जनस्तरको चेतनामा पनि धेरै परिवर्तन भइसकेको अवस्थामा चीनले राजनीतिक दललाई बेवास्ता गरेर अघि बढ्न नहुने सुझाव दिँदै आएको छ।

माओवादी द्वन्द्व, दरबार हत्याकाण्ड, दोस्रो जनआन्दोलन, राजतन्त्रको अन्त्य हुँदै नयाँ संविधानसहित राजनीतिक स्थायित्वमा नेपाल अघि बढेको बुझाइ चिनियाँ पक्षको छ। त्यसबीचमा चीनतर्फ नेपालबाट बाक्लो भ्रमण भए पनि चिनियाँ पक्षबाट विदेशमन्त्री स्तरमा मात्र भ्रमण भएका छन्।

अहिलेसम्मको सूचना र तयारीअनुसार राष्ट्रपति सी भारत भ्रमण सकेर नेपाल आउनेछन्। यसबारे वाङको भ्रमणका क्रममा टुंगो लाग्ने परराष्ट्र अधिकारी बताउँछन्।

मन्त्री ज्ञवाली र वाङबीच असार तेस्रो साता बेइजिङमा लामो वार्ता भएको थियो। दुई पक्षीय सम्बन्ध मजबुत बनाउन उच्चस्तरीय राजनीतिक भ्रमणलाई नियमित गर्ने, आपसी सहयोग बढाउने, लगानीको बाटो खोल्ने, सीमा व्यवस्थित र सडक सञ्जाल विस्तार गर्ने लगायतमा छलफल भएको थियो। सोही वार्तामा मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्ता दिएका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ पक्षबाट उच्चस्तरको भ्रमण यही वर्ष हुने बताउँदै आएका छन्।

चीनले नेपालतर्फ राष्ट्रपतिको भ्रमण गराउनुपूर्व नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई गत वैशाखमा चीनको राजकीय भ्रमण गराएको थियो। उक्त भ्रमणको रिटर्न भ्रमणका रूपमा राष्ट्रपति सी नेपाल आउने निश्चित भएको दाबी राष्ट्रपति कार्यालय उच्चस्रोतले गरेको छ। राजतन्त्र अन्त्यपछि पहिलोपटक चीनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा रातो कार्पेट बिछ्याएको थियो। अघिल्ला राष्ट्रपति रामवरण यादवले दुई पटक चीन भ्रमण गरेका थिए तर दुवै भ्रमणमा उनी बेइजिङ पुगेका थिएनन्। अन्नपुर्णका अनुसार राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको निम्ता दिइसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here