ऐतिहासिक क्रमभंगता : संरक्षण पुरस्कार रोकियो

काठमाडौँ । विगतदेखि भव्य रुपमा राष्ट्रिय संरक्षण दिवसम मनाउँदै प्रदान गरिदै आएको राष्ट्रिय संरक्षण पुरस्कार प्रदान नगरेर वर्तमान सरकारले संरक्षणका क्षेत्रमा ‘ऐतिहासिक क्रमभंगता’ गरेको छ ।

संरक्षणमा समर्पित व्यक्तित्वलाई प्रदान गरिने पुरस्कार अब इतिहास बनेको छ । जब कुनै चिजको ‘ब्रेक’ हुन्छ, त्यो इतिहास हुन्छ । जसको निरन्तरता भइरहन्छ त्यो ज्यूँदो इतिहास हुन्छ । नेपालको इतिहासमा संरक्षणकर्मीलाई राष्ट्रिय संरक्षण दिवसका अवसर पुरस्कार दिइने विषय अब इतिहास भएको छ, ज्यूँदो इतिहासको मार्गमा पहिरो खसेको छ, पुल भाँचिएको छ । अब पुरस्कार निरन्तरता दिन त्यो पहिरो पखाल्नुपर्छ, पुल जोड्नुपर्छ ।

संरक्षणका क्षेत्रमा विश्वमै उत्कृष्ट सफलता गरिरहेको नेपालले विगत देखि मनाईदै आएको र वितरण गरिदै आएका मन्त्रालयका सबै पुरस्कारहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन भएपनि राष्ट्रकै उच्च र सम्मानित व्यक्ति हेलिकोप्टर दुर्घटनामा परेर अपूरणीय क्षति भएको दिनलाई सम्झेर मनाइने राष्ट्रिय दिवस र प्रदान गरिने पुरस्कारमा वर्तमान सरकारले ‘झयाप्पै ब्रेक’ लगाएको छ ।

चालु आर्थिक वर्षको बजेट हेर्दा मन्त्रालयले विश्व वातावरण दिवस मनाउन र त्यो दिनमा प्रदान गरिने पुरस्कारका लागि बजेट राखिएको छ । त्यसैगरी वनस्पति विभागले मनाउने वनस्पति दिवस र प्रदान गरिने पुरस्कारका लागि रकम छुट्याइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक वर्ष बैशाख १ गते देखि मनाउने वन्यजन्तु सप्ताहमा प्रदान गरिने बिभिन्न पुरस्कारका लागि बजेट विनियोजन भएको छ । संघीय सरकार मातहत रहेका तल्ला निकायले प्रचार प्रसार तथा पुरस्कारका लागि प्रश्ताव गरिएका सबैजसो कार्यक्रमलाई निरन्तरता दिइएको चालु आर्थिक वर्षको बजेटमा नेपालको संरक्षणमा योगदान पुर्याउने अग्रजको सम्झना गर्दै अग्रजले देखाएको बाटोलाई अनुशरण गर्न प्रण गर्ने दिनका रुपमा मनाउँदै आइएको राष्ट्रिय संरक्षण दिवसका लागि बजेट नहुँदा विगतमा तामझामका साथ मनाइने यो दिवस बबरमहलको एउटा सानो हलमा आज मंगलबार मनाइएको छ ।

तत्कालिन वन मन्त्री गोपाल राई, वन सचिव दामोदर पराजुली, वन विभागका महानिर्देशक शरद राई, निकुञ्ज विभागका महानिर्देशक तथा संरक्षण साझेदार संस्था डब्लुडब्लुएफको उच्च नेतृत्व, डा. हर्क गुरुङ लगायतका २४ जनाको ताप्लेजुङको घुन्सा नजिक फलेमा हेलिकोप्टर दुर्घटना भएको दिनलाई सम्झेर प्रदान गरिने राष्ट्रिय संरक्षण पुरस्कार वितरण गरिने कुरामा वर्तमान सरकारले क्रमभंगता गरेको छ । यो दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने र राष्ट्रिय स्तरको संरक्षणकर्मीलाई पुरस्कार दिने भन्ने निर्णय कुनै विभागका डिजी, मन्त्रालयको सचिव र मन्त्रीले गरेको थिएन, तत्कालिन अवस्थामा क्याविनेटले निर्णय गरेर निरन्तरता पाइरहेको हो ।

यो पटकको सो दिवस नमनाउने हो भने कानूनतः क्याविनेटबाट निर्णय गराएर नमनाएको भएपनि हुन्थ्यो तर विगतदेखि निरन्तरता पाउँदै आएको क्याविनेटको निर्णयलाई वर्तमान वन मन्त्री शक्तिबहादुर बस्नेतले लत्याइदिएका छन् । तर उनले आफ्नो क्षेत्रमा जलवायु परिवर्तन सम्मेलन गर्न बजेट विनियोजन नभएको कार्यक्रम भएपनि वातावरण विभागबाट ४० लाख र अन्य साझेदार संस्थाबाट थप ६० लाख संकलन गराई गत जेठ महिनाको दुई दिनमा एक करोड रुपियाँ खर्च गरेका थिए । सो रकम जुटाउनका लागि मन्त्रालयका योजना महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढुंगानाले प्रमुख भूमिका खेलेका थिए ।

सन् २००६ को असोज ७ गते कञ्चनजंगा संरक्षित क्षेत्रलाई समुदायमा हस्तान्तरण गरेर फर्किन क्रममा राज्यले आफ्ना विशिष्ट व्यक्ति र नेपालको संरक्षणका लागि आएको विदेशी शुभेच्छुक विज्ञलाई गुमाएको स्मृतिमा सन् २००७ देखि यो दिवस मनाउन तत्कालिन सरकारले निर्णय गरेको थियो । त्यो बेलादेखि गत वर्षसम्म पनि मन्त्रालयले असोज ७ गतेलाई राष्ट्रिय स्मृति दिवसका रुपमा मनाउँदै आएको थियो । तर यस पटक भने दुई तिहाईको बलियो सरकारले संरक्षणको इतिहास मेटाउने काम गरेको संरक्षण साझेदार संस्थाका एक प्रतिनिधिले गुनाशो व्यक्त गरे ।

सन् २००७ देखि हालसम्म बिभिन्न कालखण्डमा नेकपा एमालेका किरण गुरुङ, भानुभक्त जोशी, राप्रपाका दिपक बोहरा, बिक्रम पाण्डे, मधेशी फोरम गच्छेदारका वकिल मुसलमान, नेपाली कांगे्रसका महेश आचार्य, शंकर भण्डारी, नेकपा मालेका यदुबंश झा, नेकपा माओबादीका मात्रिका यादव, अग्नी सापकोटा लगायतका मन्त्री हुँदा समेत निरन्तरता दिइदै आएको यो दिवस वर्तमान मन्त्री शक्तिबहादुर बस्नेतको पालामा फुस्सा भयो ।

गत वर्ष वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख डा. महेश्वर ढकालले यो कार्यक्रमको संयोजन गरेका थिए । यो वर्ष यो महाशाखा प्रमुखमा यज्ञनाथ दाहाल छन् । किन दिवस भव्य रुपमा मनाइएन र पुरस्कार वितरण गरिएन ? भन्ने जिज्ञासामा वर्तमान महाशाखा प्रमुख दाहालले भने, यो बजेटको कुरो योजनाले गर्ने हो । मैले होइन, योजनाले छुटाएको हो कि ? अर्थ मन्त्रालयले काटेको हो ? मलाई थाहा भएन ।

उता योजना महाशाखा प्रमुख ढुंगानाले यो विषयमा आफु पनि अनभिज्ञ भएको बताए । उनले मंगलवार साँझ भने, यो त हेर्नै पर्छ, म भोली मन्त्रालय गएर हेर्छु अनि मात्र थाहा हुन्छ । यद्धपी मंगलबार दिउँसोका कार्यक्रममा निमित्त सचिवको हैसियतमा उनै ढुंगानाले प्राविधिक कारण यो वर्ष पुरस्कार दिन नसकिएको भन्दै क्षमायाचना गरेका थिए । कार्यक्रममा अर्थ मन्त्रालयले बजेट काटेर पठाएको जिकिर उनले गर्न सकेनन् ।

बबरमहलको कार्यक्रममा एक सहसचिवले भने, ढुंगानाजीलाई बैठकबाट उठ्ने फुर्सद छैन । अरु सबै विभाग र कार्यालयका पुरस्कार यथावत हुने मन्त्रालयले कार्यक्रम अर्थ काट्ने भन्ने प्रश्न नै होइन । यो जानाजान काटिएको हो । सरकारले दिवस मनाउने र पुरस्कार दिने घोषणा गरेर वर्षाैँ सम्म निरन्तर भएको कार्यक्रमलाई अर्थ मन्त्रालयले अनजानमा काट्नै सक्दैन । यसमा वर्तमान नेतृत्वको सरासर ‘कपट’ हो ।
कसरी मनाइयो त दिवस

बार्षिक कार्यक्रममा परेको भए मन्त्रालयले एक महिना पहिले देखि नै पुरस्कार छनौटका लागि सिफारिस समिति गठन गरेर कामको थालनी गरिसक्थ्यो । पुरस्कार कसलाई दिने ? कुन व्यक्ति पार्टीको नजिक छ ? कसलाई दिँदा खासै बिबाद नआउन सक्छ भने योजना बनाउने जिम्मा पाउन सक्ने हैसियत भएका डा. ढुंगानालाई यो वर्षको दिवस मनाउने र पुरस्कार वितरण गर्ने कार्यक्रम बजेट नभएको विषय थाहा नभएको होइन । के कारणले बजेट आएन भन्ने पनि पूरापुर जानकारी भएकै विषय हो । त्यसैले मन्त्री बस्नेत, सचिव डा. ओली चुपचाप बिदेश उडे र मन्त्रालय हाँक्ने जिम्मेवारी पाएका डा. ढुंगानाले कानमा तेल हाले ।

मन्त्रालयमा असोज ६ गते भएको कार्यप्रगतिको बैठकमा निकुञ्ज विभागका नवनियुक्त महानिर्देशक गोपालप्रकाश भट्टराई संरक्षण दिवस र पुरस्कार वितरणका बारेमा के प्रगति भइरहेको छ ? भनेर ढुंगानालाई सोध्द्धा समेत ए, ला हो र ? लौ न त्यसका लागि त बजेट नै आएको छैन भनेर अनभिज्ञता प्रकट गरे ।

सोही कार्यक्रममा निकुञ्जका पूर्व महानिर्देशक मनबहादुर खड्का पनि चुरे कार्यक्रमको प्रगतिको फायल बोकेर आएका थिए, भट्टराईको कुरा सुनिरहेको खड्काले जसरी पनि यो दिवस मनाउनै पर्ने, नभए संरक्षण साझेदार संस्था र आम जनतामा नराम्रो सन्देश जाने भन्ने कुरा उठान गरेपछि बल्ल तातेका निमित्त सचिव डा. ढुंगानाले अनि जिम्मा दिए रेड सेलका डा. बुद्धि पौडेललाई ।

रेड प्रमुख पौडेलले रातारात सबैलाई खबर गरे अनि बबरमहलको एउटा सानो बैठक हलमा दिवस मनाइयो, दिवस मनाउने काममा त क्रमभंगता रोकियो । तर संरक्षणमा त्याग, तपस्या बलिदानी दिने व्यक्तिको सम्मान सहित पुरस्कार दिइने कुराको इतिहासमा ‘ब्रेक’ लाग्यो । यस अघि वन मन्त्रालयका पूर्व सचिव बबनप्रसाद कायस्थ, पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव र डा. कमल गैह्रे सो पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

जिम्मा कसले लिने ?
मन्त्रालय भनेको मन्त्री हो । मन्त्रालयमा हुने सबै कामकुरोको जस र अपजस लिने पनि मन्त्री नै हुन्छ । मन्त्रीको निकट सहयोगी सचिव हुन्छ । मन्त्रीले गर्न खोजेको कुरालाई सहजीकरण गर्ने, विज्ञको रुपमा सहयोगी भइदिने काम सचिव र सचिवको टिम महाशाखा प्रमुख र विभागीय प्रमुखको हुन्छ ।

अब इतिहासलाई नै मेटाउने गरी भएको कामको जिम्मा कसले लिने होला ?
मन्त्रालयका एक सहसचिवले भने, यो जानाजान काटिएको कार्यक्रम हो । संरक्षणमा विज्ञता हासिल गरेको कुनै पनि चरोमुसोले यो मन्त्रीले ठिक गर्यो भनेर कहिँ भनेको छैन, कँही बोलेको छैन । कुनै विज्ञले एक शब्द लेखेर खर्च गरेको छैन । मन्त्रीका लागि संरक्षण प्रति समर्पित सबै विज्ञहरु प्रतिगामी, असहयोगी, निकम्मा भएपछि कसका लागि र किन पुरस्कार दिएर राज्यले खादा ओडाउने भन्ने परेकोले यो कार्यक्रम जानाजान नराखिएको हो ।

योजना महाशाखा प्रमुख डा. ढुंगानाले दिवस मनाइँदा प्रमुख अतिथिको आसनबाट प्राविधिक त्रुटी भनेर पन्छिनु र वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख दाहालले यो कुरा योजनाले पार्नुपर्ने भन्ने तर्क दिनुले ती सहसचिवको भनाई सत्य नजिक छ कि ?

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here