गस्ती भएन चिन्ता नगर्नुहोस्, स्पाई क्यामरा छ नि !!!

काठमाडौँ । वन, जंगल, वन्यजन्तु खुला अनि साझा सम्पत्ती । यस्ता साझा सम्पत्तीलाई चोर्ने, मार्ने अनि मास्ने काम चोर, तस्करले गर्छ । चोर, तस्करले मौका छोपेर यस्तो काम गर्ने गर्छ । त्यसैले बेला बेला गस्ती, सूचना आदानप्रदान तथा सूराकी परिचालन गरिरहनु पर्छ ।

दिनरात गस्ती गर्न सकिन्न भने चिन्ता नगर्नुहोस् । सकेको ठाउँमा गस्ती गर्ने, नसकेको ठाउँमा क्यामरा झुण्ड्याउने अनि क्यामराले सूचना प्रवाह गर्ने बित्तिकै त्यो ठाउँलाई रेकी गर्ने, गस्ती गर्ने, घेरा हाल्ने र बदमासलाई कारवाही गर्दै संरक्षण गर्न सकिन्छ ।

यस्तै कामको सुरुवात गरेको छ, बाँके राष्ट्रिय निकुञ्जले । जंगलबाट बस्ती नजिक रहेको स्थान, मानिसले बेलाबखत निकुञ्जभित्र छिर्न सक्ने तथा चोर तस्करहरुले प्रयोग गर्ने सम्भावित बाटो तथा क्षेत्रमा ‘स्पाइ क्यामरा’ जडान गरी गैर कानूनी प्रवेश गर्ने व्यक्तिको सूचना लिने र त्यो क्षेत्रमा अपरेसन गर्ने कामको सुरुवात गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्जका केही सम्वेदनशिल क्षेत्रमा त्यस्ता क्यामरा जडान गरिएका छन् ।

कस्तो छ यो प्रविधि
निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार यो क्यामराले मानिसको तस्विर मात्र कैद गर्ने गर्छ । सो बाटोमा वन्यजन्तुले आवतजावत गर्दा तस्विर कैद हुदैन । मानिसको ओहोरदोहोर गरेको तस्विरलाई कैद गरेर तत्कालै निकुञ्जको सर्वर मार्फत तस्विर इमेल आउने गर्छ । प्राप्त तस्विरका आधारमा तत्काल त्यो स्थानमा गस्ती बढाउने, रेकी गर्ने, घेरा हाल्ने काम, कारवाही अगाडि बढाउन सजिलो हुने गर्छ ।

तीन जनालाई कारवाही
यही क्यामराले खिचेको तस्विरका आधारमा बाँके राष्ट्रिय निकुञ्ज हेडक्वाटरदेखि पश्चिमको बस्ती बालापुरबाट निकुञ्जको जंगलभित्र पसेर काठ, दाउरा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । भट्टराईका अनुसार क्यामराले तत्काल पठाएको तस्विरका आधार गस्ती टोली परिचालन गरिएको र मानिस जंगलबाट भागेर गाउँ छिरेपनि तस्विरका आधारमा ती व्यक्तिको पहिचान भई कारवाही गरिएको छ ।

प्रमोदकुमार भट्टराई, प्रमुख संरक्षण अधिकृत

प्रमुख संरक्षण अधिकृत भट्टराईले नेपालकथासँग मंगलबार भने, बालापुर वस्तीबाट निस्केको व्यक्ति जंगल छिरेको तस्विर प्राप्त हुनेबित्तिकै हामीले गस्ती परिचालन गर्यौँ । तर मानिस भाग्न सफल भयो । पछि हामीले तस्विर सहितको प्रमाण जुटाई गाउँमा सोधखोज गर्दा गाउँलेहरुले पनि केही भन्न सक्ने अवस्था रहेन । जसले गर्दा निकुञ्जको जंगलबाट काठ काटेर लग्ने मानिसलाई पक्राउ गर्न सफलता मिल्यो ।

यो प्रविधिले गस्ती गर्न नसकिएका क्षेत्रको नियमित तथा सघन रुपले अनुगमन गर्न सहज भएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here