काठमाडौँ । वन्यजन्तु अपराधमा यो वर्षकै सबैभन्दा ठूलो घटना मानिएको सगरमाथा राष्ट्रिय निकुञ्जका कस्तुरीमृग मारिएको घटनामा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

यही वैशाख १३ गते सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ गाउँपालिका वडा न ४ को जंगलमा सात वटा कस्तुरीमृग र एउटा गिद्ध पासोमा परी मृत्यु भएको घटनापछि निकुञ्ज प्रशासन र स्थानीय समुदायको संयुक्त पहलमा चोरी शिकारमा संलग्न हुने व्यक्तिहरु पक्राउ पर्न थालेका हुन् ।

तस्करले नाभीबाट बिना निकालि सकेको अवस्थामा फेला परेको कस्तुरी ।

सो घटनापछि स्थानीय समुदायले सक्रियता देखाएपछि ठाउँ ठाउँमा चोरी तस्कर गर्नेलाई घेरा हाली समातेर निकुञ्ज प्रशासन र प्रहरीको जिम्मा लगाउन थालिएको छ ।

मंगलबार स्थानीयले घेरा हालेर मकाकुलुङ गाउँपालिका वडा नं ५ गुदेल गाउँबाट चोरी शिकारमा संलग्न व्यक्ति जनता राईलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए ।

त्यसैगरी खुम्बु पासाङ गाउँपालिकाको गाउँबाट नरेश राई र अर्काे निलुङ्गा गाउँबाट कैलाश राईलाई स्थानीय बासिन्दाले समातेर निकुञ्ज प्रशासनलाई बुझाएका छन् ।

पक्राउ परेका मध्येका जनता राईले पासो हालेर कस्तुरीमृगको ‘बिना’ निकालेको कुरा स्वीकार गरेको उपाध्यायले बताए । उनले यस अघि पक्राउ परेका बिष्णु राईबाट कस्तुरीमृगको ‘बिना’ गाउँमै ७० हजार रुपियाँमा खरिद गरेर काठमाडौँबाट एक लाख ४० हजारमा बिक्री गरेको कुरा पनि स्वीकार गरेको उपाध्यायले बताएका छन् ।

पक्राउ परेको कैलाश राईले पनि यस अघि डाँफेलाई मारेर मासु स्थानीय होटलमा बेचेको कुरा स्वीकार सहितको वयान दिएको उहाँले बताउनुभयो ।

पक्राउ परेको बिष्णु राईको अनुसन्धान जारी रहेकोले म्याद थपका लागि जिल्ला अदालतमा प्रक्रिया जारी रहेको छ भने पछिल्लो पटक पक्राउ परेका तीन जनाको अनुसन्धान सुरु गरिएको उपाध्यायले जनाएका छन् ।

नेपालका कानूनले कस्तुरीमृगलाई संरक्षित जनावार मानेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कस्तुरीमृगको शिकार गर्ने, मार्ने व्यक्तिलाई पाँच लाख देखि १० लाख रुपियाँ सम्म जरिवाना र पाँच वर्ष देखि १५ वर्षसम्म कैद वा दुबै सजाज हुन सक्ने व्यवस्था गरेको छ ।

यो वर्षभरीकै वन्यजन्तुको ठूलो हानी भएको घटनाको विभत्स तस्विर

बरामद गरिएको कस्तुरीका ‘बिना’

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here