काठमाडौँ । कोरोना कहरले संसारभर भएको लकडाउनले सम्पूर्ण आकाश खुला छ, सडक खाली छ । अनि धुँवा, धुलोरहित वायु सररर बगेको छ । एक किसिमको शान्तिको चरणमा गुज्रिरहेको विश्वमा मानव जाति भन्दा अहिले वन्यजन्तुको चहलपहल बढेको छ । बस्ती तथा शहरतिर घुम्न वन्यजन्तु आउन थालेका घटना सार्वजनिक हुन थालेका छन् । नेपालमा मात्र होइन, विश्वका कयौँ मुलुकमा वन्यजन्तुले वनजंगल छोडेर सहरमा घुम्न आएको दृश्य देखिन थालेका छन् ।

बर्दियास्थित पूर्व पश्चिम राजमार्गमा बाघ, हात्ती र गैँडा जस्ता ठूलो वन्यजन्तुले निस्फ्रिकीका साथ ‘क्याटवाक’ गर्न थालेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले नेपालकथासँग भने, अहिले राजमार्ग शान्त भएकाले कहिलकाँही त वन्यजन्तुले राजमार्ग ओगटेको देखिन्छ । गस्तीमा हामी जाँदा पनि राजमार्ग सकभर छाड्न मान्दैनन् ।
निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक तथा आर्थिक सहयोगमा राजमार्गमा क्यामरा जडान गरेको छ । लकडाउनका बेला वन्यजन्तुको राजमार्गमा ओहोरदोहोरका स्थिति अध्ययन गर्न जडान गरिएका क्यामरामा एउटै बाघले लगातार झण्डै चार किलोमिटर राजमार्गमा हिडेको तस्विर रेकर्ड भएको छ ।
एकै दिनमा तीन वटा बाघलाई नजिकबाट नियालेका प्रमुख संरक्षण अधिकृत बरालले भने, अहिले बाघ हेर्न जंगलभित्र पस्नै पर्दैन र राजमार्गमा भेटिन्छ । गस्तीमा जाँदा निकुञ्जका कर्मचारीले गैँडा त एकै दिन १२ वटा सम्म देखेका छन् । हात्तीका हुल पनि देखिन थालेका छन् ।

लकडाउनको अवधिमा निकुञ्जले बाघ, गैँडा तथा हात्ती जस्ता ठूलो वन्यजन्तुको अनुगमन कार्यलाई निरन्तरता दिइरहेको छ । अनुगमनको प्रारम्भिक अध्ययनले बाघ, गैँडाको संख्या बढेको अनुमान गर्न सकिने निकुञ्ज कार्यालयले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को गणनामा ८७ वटा बाघ रेकर्ड गरिएका छन् भने अघिल्लो गणना सन् २०१३ मा ५० रेकर्ड गरिएका थिए । सन् २०१२ को गणनामा ३७ वटा, सन् २०१० मा १८ वटा, सन् २००९ मा १८ वटा र सन् २००० मा गरिएको बाघ गणनामा १४ वटा रेकर्ड गरिएको थिए ।

त्यसैगरी गैँडाको संख्या सन् २०१८ मा २९ वटा रेकर्ड गरिएका थिए भने सन् २०१७ र २०१८ गरी चितवन राष्ट्रिय निकुञ्जबाट आठ वटा गैँडाको स्थानान्तरण गरिएको थियो । यही चैत महिनाबाट गर्ने भनिएको गैँडाको गणना कोरोनाले प्रभावित भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले भने, बाघको संख्या वृद्धि भएको हुन सक्छ । कति कालगतिले मरेका पनि छन् भने कति नयाँ जन्मेका पनि होलान् ।

राजमार्गमा बाघ धेरै हिडेको देखियो
हामीले लकडाउनका बेला राजमार्गमा वन्यजन्तुको आवातजावतको स्थितिलाई हेर्न क्यामरा जडान गरेका थियौँ । ती क्यामराको फूटेज हेर्दा अधिकांश समय बाघ देखिएको छ । बाघ मजाले राजमार्गको कालोपत्रेमा आफ्ना पाइला मिलाउँदै हिडेको देखिएको छ ।
सवारी साधन नगुड्दा बाघ लगायतका अन्य प्रजातिका वन्यजन्तु पनि राजमार्ग छेउछाउ आउने गरेका छन् । हात्तीका झुण्ड पनि देखिएका छन् । सायद लकडाउनका समय वन्यजन्तुको लागि निकै राम्रो समय लागेको हुनसक्छ ।

लकडाउनमा बाघ रमायो
राजमार्गमा जडान गरेका १० वटा क्यामरा झण्डै डेढ महिना पछि झिकेर हेर्दा वन्यजन्तुको बिचरणको तरिका पनि फरक भेटियो । पहिले जंगलभित्रै भित्र देखिने वन्यजन्तु यो लकडाउनका बेला खुला राजमार्ग र राजमार्ग छेउछाऊमै रमाएका देखिए ।
अम्रेनी देखि कर्णाली चिसापानीको बिच भागमा बाघ निकै ओहोरदोहोर गरेको पाइयो । चित्तल, बाह्रसिँगाको बथान राजमार्गको तलमाथि घण्टौँसम्म रमाएको फूटेज कैद भएका छन् ।