बर्दियामा सुरु भयो वन्यजन्तु सप्ताह

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणमा स्थानीय सरोकारवालाहरुसँग निकट रहेर बिभिन्न कार्यक्रमका साथ यस वर्षको वन्यजन्तु सप्ताह मनाउन सुरु गरेको छ ।

निकुञ्जले नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै संरक्षणमा सरोकार राख्ने स्थानीय निकायका पदाधिकारी, मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति, चोरी शिकार नियन्त्रणसँग सरोकार राख्ने युवा, महिला तथा अन्य सक्रिय समुहसँग अन्तक्र्रिया गर्दै आगामी दिनमा संरक्षणका लागि सहकार्य गर्ने प्रतिवद्धता पनि संकलन गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले नेपालकथासँग भने, नयाँ वर्षको सुरुवाती दिनमा हामीले संरक्षणमा निकुञ्जले गर्न सक्ने कुरा राख्यौँ र सरोकारवाला निकायको प्रतिवद्धता पनि सुन्यौँ । अब आगामी दिनमा संरक्षणमा सहकार्य गर्न थप सहज हुने अवस्था देखिएको छ । स्थानीय निकाय तथा सरोकारवाला सबै निकायको रचनात्मक प्रतिवद्धता हामीलाई प्राप्त भएको छ ।

बर्दियामा मानव वन्यजन्तु द्धन्द्धको घटनाले चरम रुप लिइरहेका बेला निकुञ्जले स्थानीय सरोकारवालासँगको सहकार्यलाई झन प्रगाढ बनाएर संरक्षण प्रति थप प्रतिवद्धता लिनु सकारात्मक कुरा पनि हो । यो वर्ष मात्रै बर्दिया निकुञ्ज र आसपासका मध्यवर्ति क्षेत्रमा ११ जना मानिसको ज्यान बाघले लिइसकेको छ ।

बर्दियामा स्थानीय समुदायमा निकुञ्जप्रतिको ठूलो आक्रोस भएको अनुमान गरिएका बेला निकुञ्जले मानव वन्यजन्तुको सहअस्तित्वका नारालाई साकार पार्न स्थानीय सरोकारवालाको योगदानमा बढी जोड दिन थालेको छ ।

प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार निकुञ्ज वरीपरीको समुदाय, स्थानीय जनप्रतिनिधिलाई साथमा लिएर आगामी दिनमा संरक्षणका कामहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here