वन सचिव ओलीको गरियो बिदाई

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीको मंगलबार मन्त्रालयबाट बिदाई भएको छ ।

पाँच वर्षे सचिवको सेवा अवधि पूरा भएपछि सेवा निवृत भएका सचिव डा. ओलीको मंगलवार वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र कर्मचारीले संयुक्त रुपमा बिदाई गरेका छन् ।

सो अवसरमा मन्त्री आलेले सचिव ओली इमान्दार र सक्षम भएको टिप्पणी गरे । सचिवसँगको छोटो अवधिको काम गराईले आफू प्रभावित भएको धारणा राखे ।

बिदाई कार्यक्रममा सचिव ओलीले भने, सरकारले मलाई यो ठाउँमा पुर्याएको र समक्ष बनाएको हुँदा भविष्यमा पनि सरकारले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्ने र मातृभूमिको सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

२०७३ साल बैशाखमा सचिवमा पदोन्नती भएका डा. ओलीले यस अघि तत्कालिन जनसंख्या तथा वातावरण मन्त्रालयमा डेढ वर्ष, पशुपंक्षी विकास मन्त्रालयमा एक वर्ष र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा छ महिना काम गरेका थिए । सचिवको पाँच वर्षे सेवा अवधि पूरा गरेर ओली अवकाश भएका हुन् ।

२०७४ साल चैत २६ गते वन तथा वातावरण मन्त्रालयमा सचिवका रुपमा आएका ओलीले निरन्तर रुपमा मन्त्रालयको नेतृत्व लिएका थिए । तीन वर्ष ११ दिन मन्त्रालयमा बस्दा बिबाद र अल्झनमा नपरेका ओली निजामति कर्मचारी भित्र इमान्दार छविका मानिन्छन् ।

२०४६ सालमा रेञ्जर पदबाट सेवा प्रवेश गरेका ओलीले तत्कालिन अवस्थाको वन तथा भूसंरक्षण मन्त्रालय मातहतको मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालको निर्देशक, वन विभागको महानिर्देशक भएर काम गरेका थिए ।

सहसचिव बढुवा भएपछि वातावरण महाशाखा, वैदेशिक सहयोग समन्वय महाशाखाको जिम्मेवार समालेका डा. ओलीले फेरेष्ट्री प्रोजेक्ट बैँक निर्माण तथा प्रकाशन समेत गरेका छन् ।

जनसंख्या तथा वातावरण मन्त्रालयका रहँदा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र जल तथा मौसम विज्ञान विभागमा सुधार दर्जनौँ काम गरेको डा. ओलीले पशुपंक्षी विकास मन्त्रालयमा बस्दा मत्स्य विकास महाशाखा र त्यसका कार्यक्रम कृषि मन्त्रालयबाट पशुपंक्षी विकासमा मन्त्रालयमा ल्याउन सफल भएका छन् ।

विशेष गरी दुध, अण्डा र मासुसँग सम्बन्धित रहेको सो मन्त्रालयमा अनुदान सरकारी नीतिले गर्दा रकमको दुरुपयोग भएको पाइएपछि उहाँले अनुदान कार्यक्रम रोक्दा अनुदान कार्यक्रममा रमाउने बिचौलियाले राजनीतिक तहबाट खेद्न खोजेका थिए तर डा. ओलीले अडान कामय राख्दा त्यो कार्यक्रममा सुधार भएको थियो ।

पछिल्लो पटक वन तथा वातावरण मन्त्रालयमा बस्दा उहाँको नेतृत्वमा संघीयतालाई कार्यान्वायन गर्नका लागि धेरै नीतिगत तथा संरचनागत काम भए । संघीयतालाई सम्बोधन गर्ने वन ऐन, वातावरण ऐन, वन तथा वातारण नियमावली, साइटिस तथा रेड सम्बन्धी ऐन कानूनको तर्जुमा पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here