जथाभावी डाँडा नभत्काउन सिमेन्ट उद्योगलाई अदालतको आदेश

हेटौँडा । रिद्धिसिद्धी सिमेन्ट उद्योगले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ४ स्थित चुनढुङ्गा खानी उत्खनन्मा जथाभावी रुपमा डाँडा भत्काउन थालेपछि उच्च अदालत पाटनको हेटौँडा इजलासले निषेधाज्ञा आदेश दिएको छ ।

हेटौँडा उपमहानगरपालिका १५ मा रहेको उद्योगले राक्सिराङ गाउँपालिका ४ मा रहेको गिङ्गुस्थित खानीबाट चुनढुङ्गा उत्खनन् गर्ने नाउँमा वरपरका बस्ती, भौतिक पूर्वाधार बाटोघाटो लगायतका कुरालाई ध्यान नदिई डाँडा काट्न थालेपछि स्थानीय बासिन्दाले उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

उद्योगले गिङ्गु खानीबाट चुनढुङ्गा जथाभावी र जबर्जस्ती उत्खनन् गर्दा खानी भन्दा तल्लो भेगको बस्तीमा ढुङ्गा खस्ने, पहिरो जाने भइरहँदा समेत सिमेन्ट उद्योगले वेवास्ता गरेकोमा बिरोध हुँदै आएको थियो ।

माथि डाँडामा सुरक्षाका मापदण्ड नअपनाई रातदिन काम हुँदा तल्लो तटीय क्षेत्र चौकीटार र बिगुटारको बस्तीमा दिनरात आतङ्क हुने गरेको भन्दै स्थानीय जनप्रतिनिधिले समेत मापदण्ड अनुसार काम गर्न अनुरोध गरेका थिए

तर सिमेन्टका प्रवद्र्धकहरुले वर्तमान सरकारका अर्थमन्त्री विष्णु पौडेल लगायतका व्यक्तिसँगको पहुँचका आधारमा स्थानीय बासिन्दा र जनप्रतिनिधिको कुरामा टेर पुच्छर लगाएका थिएनन् ।

स्थानीय प्रशासन समेत सरकारमा रहेका व्यक्तिबाट प्रभावित हुन थालेपछि स्थानीय बासिन्दाले अदालतमा मुद्धा दायर गरेका थिए ।

मुद्धा दायर भएपछि न्यानायाधीशद्वय शेषराज शिवाकोटी र मेरिना श्रेष्ठको संयुक्त इजलाशले स्थानीयको घरगोठ, जग्गा, मानवबस्ती, वातावरण र पानीको मुहानमा असर पर्ने गरी खानी उत्खनन् नगर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here