‘डिभिजन वन कार्यालय खारेज हुनुपर्छ’

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघको सम्पन्न सामुदायिक वन अधिकार सम्मेलनले प्रदेश सरकार मातहत रहेका डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालय खारेज गर्न माग गरेको छ ।

महासंघको तीन दिने सम्मेलन तथा महासंघको राष्ट्रिय कार्यसमितिको छैठौँ बैठक दाङको तुलसीपुरमा सम्पन्न भएको छ ।

संघीयता कार्यान्वयन हुँदा ती कार्यालयहरु प्रदेश सरकार मातहत राखिएका छन् । सम्मेलनले ती कार्यालयलाई स्थानीय सरकारको मातहतमा समायोजन गर्न सुझाव पनि दिएको छ । महासंघले भनेको छ, समस्या स्थानीय तहमा छ, उपभोक्ता स्थानीय तहमा छन् । काम स्थानीय तहमा हुन्छ अनि कार्यालय प्रदेश सरकार मातहत राख्ने काम कुनै दृष्टिले वैज्ञानिक छैन । त्यसैले ती कार्यालय खारेज गरी स्थानीय सरकार मातहत लैजानु पर्छ ।

सम्मेलनले वन ऐन २०७६ सँग बाझिने गरी सरकारले ल्याएका बिभिन्न निर्देशिका र कार्यविधिहरुको खारेजको माग गरेको छ । महासंघले भनेको छ, सामुदायिक वनका काठ लगायतका वन पैदावारको परिचालनमा लगाइएका सबै खालका प्रतिबन्धहरु अबिलम्ब खारेज गरियोस् । होइन भने आम उपभोक्ता आन्दोलनमा उत्रिन बाध्य हुनेछन् ।

वन ऐन, नीति, नियमावली तथा वनसंँग सरोकार हुने सबै खालका कानूनी पक्षसँग सरोकार राख्ने महासंघलाई वेवास्ता गरेर वन नियमावली चोर बाटोबाट आम उपभोक्तालाई छलेर मन्त्रालयले आफ्नो वेभसाइटमा राख्दै सुझाव मागेको भन्दै महासंघका अध्यक्ष भारती पाठकले असन्तुष्टि व्यक्त गरिन् ।

यो पटकको सम्मेलनले वन, वन्यजन्तु, संरक्षणसँग सरोकार राख्ने सबै खालका विद्यमान कानूनी दस्तावेजको गहन र संग्लो चिरफार गरेको छ । सम्मेलनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को समेत खारेजीको माग पनि गरेको छ ।

महासंघका अध्यक्ष पाठकका अनुसार वनको दीगो व्यवस्थापन गरी वन पैदावरको उत्पादकत्व बढाई काठ लगायत वन पैदावारमा नेपाललाई आत्मनिर्भर बनाउन विदेशी काठमा प्रतिवन्धका लागि सरकारसँग माग गरिएको छ ।

कार्वन व्यापारको नाममा सामुदायिक वन माथिको कार्वन अधिकार कटौती गर्न सरकार स्वयम् लागि रहेको भन्दै अध्यक्ष पाठकले आपत्ती जनाइन् । उनले भनिन्, वन जंगल जोगाउने वन उपभोक्ता अनि उनीहरुलाई नै अधिकारबाट बञ्चित गर्न पाइन्छ ? समुदायको कार्वन माथिको अधिकार सुनिश्चित गरियोस भन्ने हामीले सरकारसँग जोडदार माग राखेका छौँ ।


थप महासंघको घोषणा पत्रबाट

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here