कसरी जोगियो चुरे अध्यक्ष डा. किरण पौडेलको पद

काठमाडौँ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि डा. देउवाका नजिकका मान्छेसँग अरु शुभचिन्तकहरुले झैँ माधबबहादुर कार्कीले बधाई साटासाट गरे । डा. कार्कीको देउवा पत्नी आरजुसँगको चिनजान मात्र सिमित थिएन । कार्कीले प्रधानमन्त्री देउवालाई बधाई आरजु मार्फत सुनाएका थिए । देउवा प्रधानमन्त्री हुँदा आफू खुसी भएको कुरा राम्रैसँग व्यक्त गर्ने अवसर पाएका थिए ।

डा. कार्कीले आइयूसिएन लगायतका बिभिन्न अन्तर्राष्ट्रिय संस्थामा सँगै काम गर्दाको घनिष्ठ सम्बन्ध थियो डा. आरजुसँग । डा. आरजु र डा. कार्की दर्जनौँ फोरममा नेपालका तर्फबाट विज्ञका रुपमा भाग लिएका थिए । सामान्य चिनजान भन्दा पनि व्यावसायिक घनिष्ठता पनि थियो ।
यस वर्षको बाघ दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रमुख अतिथिको स्थान स्वीकार गरेर राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालय खुमलटारको कार्यक्रममा पुगे । त्यहाँ भेट भयो, कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीसँग । कोषका संरक्षकको स्वागत अनि कोषका बारेमा कुरा गर्ने अवसर पाएका डा. ओलीले आफ्नो परिचय दिए ।

डा.ओलीको परिचयपछि प्रधानमन्त्री देउवाले तपाईको घर दाङतिर हो भनेर सोधेका थिए । डा. ओलीले आफू दाङको नभएको बरु राष्ट्रिय योजना आयोगको सदस्य समेत रहेको त्यही ओली हो भनेर परिचय खुलाए ।

अनि प्रधानमन्त्री देउवाले हाँस्दै हाम्रो ओलीजीको ( एमाले अध्यक्ष केपी ओली ) गाउँ कै हो कि क्या हो भनेर ठट्टा समेत गर्न भ्याए । कोषका अध्यक्ष डा. ओलीले हा,े सम्माननीय ज्यू, हामी नजिकैको हौँ भन्ने जवाफ फर्काएका थिए ।

तत्कालिन प्रधानमन्त्री ओलीले वन मन्त्री पे्रम आलेलाई कोषको अध्यक्ष नदिएर आफन्त नाता पर्ने डा. कृष्णप्रसाद ओलीलाई कोषको अध्यक्ष बनाएका थिए । डा. ओलीले कोषको अध्यक्ष पद २०७८ साल बैशाख २१ गते पदबहाली गरेका थिए ।

एमाले पार्टी भित्रको किचलोमा प्रेम आले तत्कालिन अवस्थामा केपी ओली पक्ष भएर वन मन्त्री भएका थिए तर पछि माधब नेपाल पक्षमा लागेर ओली बिरुद्धको सडक र अदालतको आन्दोलनमा सक्रिय भए । ओली सरकार ढलेपछि माधव नेपाल पक्षबाट आफूलाई मन्त्री बनाउनु पर्ने माग आलेको थियो ।

यो बीचका जति पटक देउवालाई प्रेम आलेले भेटे, सधैँ जसो केपी ओलीले आफूलाई वन मन्त्री बनाएर काम गर्न नदिएको गुनाशो पोख्दै आएको थिए । उनले कोषको अध्यक्षमा मन्त्रीलाई नदिएर नाता पर्ने राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका डा. ओलीलाई नियुक्त गरेको गुनाशो बारम्बार दोहो¥याउँदै आएका थिए । कोष अनि कोषको अध्यक्षमा आफन्तको नियुक्ति । प्रेम आलेको गुनाशोे प्रधानमन्त्री देउवाको अगाडि जहिले पनि आउने गर्थे ।

यो बीचमा डा. कार्कीले डा. आरजुसँग दर्जनपटक भेटघाट गरे । डा. कार्कीलाई वन क्षेत्रमा राम्रै ठाउँमा जिम्मेवारी दिने कुरामा देउवा पत्नी आरजु सहमत भइन् । राजनीतिक नियुक्ति लिने र जिम्मेवारी दिने कुरामा आरजुसँग सहमत भएपछि डा. कार्कीलाई प्रधानमन्त्री देउवासँग भेट गराइयो ।

वन मन्त्रालय भन्ने वित्तिकै देउवालाई त्यही बाघ दिवसको वार्तालापको झल्को अनि प्रेम आलेको दुखेसोको याद थियो । कोषका अध्यक्ष डा. ओलीले एमाले अध्यक्ष ओलीको नजिकैको हौँ भनेको कुराले सधैँ पिरोलिरहेको थियो ।

प्रधानमन्त्री देउवाले पहिलो भेटमा केपी ओलीको मान्छे अर्काे ओलीको ठाउँमा उहाँलाई ( माधव कार्कीलाई ) राख्ने, त्यसका लागि प्रक्रिया सुरु गर्नु भन्ने आदेश पाएपछि प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले काम सुरु गरेका थिए ।

यस अघि वन प्राविधिक काउन्सिलमा डा. कार्कीलाई ल्याउने बारे छलफल भयो, राष्ट्रपति चुरेमा अध्यक्षमा ल्याउने बहस भयो, वन मन्त्रालय भित्रका अरु निकायको खोजनीति पनि भयो । राजदूतका लागि पनि चर्चा चल्यो । तर काउन्सिल तत्काल बन्न नसक्ने, राष्ट्रपति चुरेमा बढी सक्रिय हुनु पर्ने भएपछि डा. कार्कीका लागि तत्काल उपयुक्त ठाउँ कोषको अध्यक्ष नै देखियो ।

राजनीतिक नियुक्ति लिए पनि आफूले सधैँ गरिरहेको काममा बाधा नआउने पदमा डा. कार्कीले बस्न रुचाएकाले नै राष्ट्रपति चुरेको अध्यक्ष पदमा डा. किरण पौडेल सुरक्षित रहे । बालुवाटार स्रोतका अनुसार चुरेमा राज्यमन्त्री सरहको योग्यता र मर्यादा अनि बढी सक्रिय हुनु पर्ने तर कोषमा अध्यक्ष भनेको मन्त्री सरहको मर्यादा र खासै सक्रिय नभएर पनि काम गर्न सकिने भएकाले डा. कार्कीको रुची अनुसार कोषको अध्यक्षमा नियुक्त गरिएको हो ।

कोषको अध्यक्षमा नियुक्तिको प्रक्रिया सुरु गर्न अघि धेरै पटक डा. कार्कीलाई राष्ट्रपति चुरेको अध्यक्षमा राख्नुपर्ने लबिङ नभएको पनि होइन । एकातिर डा. कार्कीले २४ सै घण्टा सक्रिय हुनु पर्ने पदमा बस्न नचाहेको र अर्काेतिर हालका अध्यक्ष डा. किरण पौडेल अदालतमा जान सक्ने र अदालतले फेरी पुर्नबहाली ग¥यो भने राम्रो सन्देश नजाने भएकाले चुरेको समिति विघटन गरेर नयाँ समिति बन्ने योजना तुहिएको हो ।

यो बीचमा चुरे समिति विघटन गरेर नयाँ बनाउने कुरामा माधव नेपाल नजिक वन प्राविधिकहरुले निकै गहन ढंगले कुरा गरेका थिए । उपेन्द्र यादव पनि यो कुरामा सहमत भइसकेका थिए तर चुरेमा पठाउन सक्ने व्यक्ति डा. कार्कीले नै हात अगाडि नबढाएपछि प्रधानमन्त्री देउवाले पनि खासै रुची नदेखाएको बताइएको छ ।

को हुन माधबबहादुर कार्की ?

करिब चार दशक प्राकृतिक स्रोत व्यवस्थापन, दीगो विकास, जैविक विविधताको संरक्षणको कर्ममा बिताएका डा. माधबबहादुर कार्की वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा अमेरिकाको क्लोराडो स्टेट विश्वविद्यालयबाट स्नाकोत्तर पास गरेका छन् ।

उनले अमेरिकाकै मिचिगन स्टेट विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन समेत गरेका कार्की इसिमोडमा सन् २००५ देखि २०१२ को अवधिसम्म डेपुटी डाइरेक्टर भएर काम गरेका छन् ।

वन अध्ययन संस्थानको निमित्त डिन तथा डाइरेक्टरको अनुभव समालेका डा. कार्कीले वन, वातावरण, दीगो विकास र खाद्य सम्प्रुभता, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित अन्तर्राष्ट्रिय पेपरमा एक सय भन्दा बढी अध्ययन अनुसन्धान, लेख रचना प्रकाशन गरेका छन् । वन अध्ययन संस्थानमा कार्कीको समय अलि बिबादित रहे पनि ज्ञान, क्षमताको हिसाबले उनमा खोट लगाउने ठाउँ भने छैन ।

२०११ सालमा जन्मिएका कार्कीले बीएस्सी एजी भारतको पञ्जाव विश्वविद्यालयबाट पास गरेका हुन् । आइयूसिएन कमिसन अन इकोसिष्टम म्यानेजमेन्टको डेपुटी चेयर भएर काम गरिसकेका डा. कार्की वातावरण संरक्षण कोषको विज्ञ सदस्यको रुपमा काम गरिसकेका छन् ।
विश्व बैँक, एसियाली विकास बैँक, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका अन्तर्राष्ट्रिय संघ÷संस्थामा काम गरिसकेका डा. कार्कीले विश्वका झण्डै ४० मुलुकमा भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here