वन मन्त्रीले बर्दियाबाट सुरु गरे फिल्ड निरीक्षण

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय समालेर दशै मान्न गृह जिल्ला पुगेका मन्त्री रामसहाय प्रसाद यादवको काठमाडौँ फर्के लगत्तै फिल्ड भिजिटको पहिलो रोजाई बर्दिया राष्टिय निकुञ्ज परेको छ ।

गत आर्थिक वर्षको फिल्डस्तरको कार्यक्रमको प्रगति र चुनौतीसँग जुधाईको आधारमा राष्टिय निकुञ्ज तथा वन्यजन्तु विभाग र मन्त्रालयको मूल्यांकनमा उत्कृष्ट काम गर्ने कार्यालयमा बर्दिया राष्टिय निकुञ्ज परेको थियो ।

सीमित साधन र स्रोतको अधिकतम सदुपयोग गर्दै संरक्षणसँग सरोकार राख्ने सबै निकाय, संघ, संस्था तथा समुदायस्तरमा संरक्षणको राम्रो काम गरेको मूल्यांकनको आधारमा विभाग र मन्त्रालयको निरीक्षणको पहिलो रोजाई बर्दिया परेको हो ।

मावन वन्यजन्तु द्धन्द्धको ठूलो समस्या देखिएको बर्दियामा मन्त्री यादव मन्त्रालयका सचिव डा.पेमनारायण कँडेल, विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल सहितको टोली लिएर शुक्रवार साँझ ठाकुरद्धारा पुगेका थिए।

मन्त्री यादव, सचिव डा. कँडेल र महानिर्देशक डा. कँडेलसहितको टोलीले शनिवार बिहान खाता करिडोर र बस्तीको अवस्थाको प्रत्यक्ष अवलोकन गरी स्थानीय बासिन्दासँग छलफल गरेका छन् । मन्त्री यादवले शनिवारै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको बैठकमा सहभागिता जनाएर समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी संरक्षित क्षेत्र व्यवस्थापन, अनुसन्धान तथा प्रशिक्षण केन्द्र लालमाटीको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । वन सचिवमा डा. पेमनारायण कँडेल आएपछि लालमाटीको पुरानो संरचनालाई सदुपयोग गर्ने पहल गरे अनुरुप केन्द्रको स्थापना हुन थालेको हो । सचिव डा. कँडेलले संरक्षण तथा व्यवस्थापनसँग सम्बन्धित सबै खालका अध्ययन, अनुसन्धानमा केन्द्रित हुनेगरी नयाँ निकायका रुपमा स्थापना गरिएको बताएका छन् ।

प्रमुख अतिथि मन्त्री तथा विशेष अतिथि सचिव डा. कँडेलले शनिवारै बर्दिया स्थित घडीयाल प्रजनन केन्द्रमा पालिएका घडीयाल गोहीलाई एक समारोहका बीच बबई नदीमा छाड्ने कार्यक्रम रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here