पाँच दशकपछि संरक्षण अनुसन्धान तथा प्रशिक्षण केन्द्र

बर्दिया । नेपालमा औपचारिक रुपमा संरक्षण कार्यको सुरुवात भएको झण्डै पाँच दशकपछि संरक्षण अनुसन्धान तथा प्रशिक्षण केन्द्रको स्थापना भएको छ ।

बर्दियाको लालमाटीमा पूराना भौतिक संरचना लथालिङ्ग अवस्थामा रहेकोले त्यसको सदुपयोग गर्दै नेपालभित्रै संंरक्षण क्षेत्रसँग सम्बन्धित व्यवस्थापन तथा चुनौतीका विषयमा अध्ययन अनुसन्धान गर्ने तथा संरक्षणमा सरोकारा राख्ने सबै निकायको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ सो केन्द्रको स्थापना गरिएको छ ।

वन तथा वातावरण सचिवमा डा.पेमनारायण कँडेलले नेतृत्व लिएसँगै संंरक्षणमा लागेका जनशक्तिको क्षमता अभिवृद्धि, अध्ययन अनुसन्धानका लागि छुट्टै संरचना चाहिने बहस सुरु गरेका थिए । संरक्षण कार्यको दायरा निकै व्यापक, चुनौतीपूर्ण, अध्ययन अनुसन्धानमा आधारित हुनु पर्ने भएकाले संरक्षण सम्बन्धी छुट्टै संरचना निर्माणले ठोस स्वरुप ग्रहण गरेको सचिव डा. कँडेलले बताए ।

उनले भने, यो ऐतिहासिक काम हो । आउँदा दिनमा संरक्षणमा लागेका जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, अध्ययन अनुसन्धानका गतिविधि बढाउने काममा यो केन्द्रबाट सञ्चालन हुने छन् ।

बर्दिया, चितवन, कोशी टप्पु, पर्सा, बाँके राष्ट्रिय निकुञ्जमा मानव वन्यजन्तु द्धन्द्धका घटना बढीरहेको र यसलाई व्यवस्थापन गर्नुपर्ने अहिले चुनौतीलाई चिर्न संरक्षणमा लागेको कर्मचारी, संरक्षण साझेदार संंंस्था तथा समुदाय सबैलाई बर्दिया स्थित सरक्षित क्षेत्र व्यवस्थापन तथा प्रशिक्षण केन्द्रले सेवा उपलब्ध गराउने बिचार सचिव डा.कँडेलको छ ।

केन्द्रको स्थापना पछि विशेष गरी सरक्षण कार्यमा लागेका जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, तालिम, गोष्ठीको आयोजना गर्ने, सरक्षित क्षेत्रमा आइपर्ने समस्या तथा चुनौतीका विषयमा अध्ययन अनुसन्धान गर्ने, प्राप्त ज्ञानलाई तत्काल व्यवहारका उतार्न सहज हुने विश्वास गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मातहत रहने केन्द्रलाई तत्काल बर्दिया राष्ट्रिय निकुञ्जले व्यवस्थापन गर्ने भएको छ । केन्द्रको संरचना अर्थमन्त्रालयबाट स्वीकृत गरी थप बजेटको व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार लालमाटीमा केन्द्रका लागि तत्काल चाहिने भवनहरु रहेका छन् । तीन वटा ठूला प्रशिक्षण हल, अध्ययन अनुसन्धानका लागि चाहिने ल्याब स्थापना गर्ने अनुकुल भएको भवन, आवासिय तालिमका लागि बस्न मिल्ने तीन वटा ठूल्ठूला सुविधायुक्त भवन रहेका छन् ।

प्रमुख सरक्षण अधिकृत श्रेष्ठले भने, सामान्य मर्मत सम्भार गर्नुपर्ने स्थिति भएपनि भवनहरु राम्रै छन् । जंगलभित्र निर्माण भएका ती भवनमा अध्ययन अनुसन्धान गर्ने व्यक्तिका लागि उपर्युक्त वातावरण रहेको छ । फिल्डमै बसेर गर्नुपर्ने कामका लागि यो ठाउँ झन सहज हुने देखिन्छ ।
सो केन्द्रको उद्घाटन वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले गरेका छन् ।

उद्घाटन मन्तव्यमा मन्त्री यादवले आफू मन्त्री नियुक्त भए लगत्तै अनुसन्धान केन्द्रको उद्घाटन गर्न पाउँदा संरक्षणमा आफ्नो लगाव बढेको बताए । उनले केन्द्रलाई थप व्यवस्थित गराउने कामका लागि लाग्ने वचन पनि दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले विभाग अन्तर्गतको यो संरचनालाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गरिने बताए ।

वन मन्त्रालय अन्तर्गत प्रशिक्षण केन्द्र र प्रदेश वन मन्त्रालयमा पनि तालिम केन्द्र रहेका छन् । वन्यजन्तु संरक्षणको विषय विशेष प्रकृतिको भएकाले यसको छुट्टै प्रशिक्षण केन्द्र चाहिने आवाज धेरै पहिलेदेखि उठ्दै आएको भएपनि हाल यसले मूर्त रुप लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here