बाघ गणना २०२२ को तयारी पूरा

काठमाडौँ । नेपालले प्रतिवद्धता गरेअनुरूप सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या २५० भन्दा बढी हुने संकेत देखिएको छ ।

चार वर्ष अघि सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा बाघको सङ्ख्या २३५ थियो । पछिल्लो चार वर्षमा कम्तिमा २० देखि ३० वटा बाघ थपिएको अनुमान गरिएको छ । हरेक वर्ष गरिने सर्वेक्षणले यस्तो सम्भावना देखाएको हो ।

सरकारले बाघ पाइने क्षेत्रमा यही मङ्सिर १९ गतेदेखि बाघको गणना सुरु गर्दैछ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वनक्षेत्रमा बाघको गणना सुरु गर्न थालेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बाघ गणनाका लागि तयारी सबै पूरा भइसकेको छ । बाघ गणनाका लागि कम्तिमा एक महिनाको समय लाग्ने र १२० जना भन्दा बढी दक्ष प्राविधिकलाई परिचालन गरिने भएका छन् ।

नेपालले संरक्षण साझेदार संस्थाको सहयोगमा बाघ पाइने निकुञ्जमा बाघको आहार प्रजाति वृद्धि तथा वासस्थान सुधारका लागि घाँसे मैदानको निर्माण र पुनरूउत्थान तथा पानीको स्रोतको व्यवस्थापनमा विशेष ध्यान दिँदै आएको छ ।

विभागका इकोलोजिष्ट बेदकुमार ढकालका अनुसार पर्सा,चितवन, बाँके, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पुराना घाँसे मैदानको पुनरुउत्थान र नयाँ घाँसे मैदानको व्यवस्थापन गर्दा बाघको आहार प्रजातिको सङ्ख्यामा वृद्धि भएको छ ।

गणनामा संरक्षण साझेदारको आर्थिक तथा प्राविधिक सहयोग

बाघ गणनाका लागि सरकारले ८२ लाख रूपियाँ विनियोजन गरेको थियो । यो रकम अपुग भएपछि संरक्षण सहयोगी संस्थाहरू जुलोजिकल सोसाइटी अफ लन्दन (जेडएसएल नेपाल) ले एक करोड रुपियाँ, विश्व संरक्षण कोष (डब्लूडब्लूएफ नेपाल) ले एक करोड रुपियाँ र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले ८८ लाख रुपियाँ बराबरको सरकारलाई आर्थिक–प्राविधिक सहयोग गरेका छन् ।


अत्याधुनिक क्यामराको प्रयोग

बाघ गणनाका लागि अत्याधुनिक क्यामरा प्रयोग गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार बाघ हिँडडुल गर्ने, बिचरण गर्ने क्षेत्रको पहिचान गरी प्रत्येक ग्रीडमा एक जोडी अत्याधुनिक स्वचालित क्यामेरा जडान गरिने छन् ।

क्यामरामा डब्लुडब्लुएफ, जेडएसएल तथा एनटीएनसीले सहयोग गरेको छ । ती क्यामरालाई एक ठाउँमा कम्तिमा दुई हप्ता राखिने छन् । ती स्वचालित क्यामराले खिचेको बाघको तस्विरलाई अध्ययन गरि बाघको संख्या एकिन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here