काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको उपमहानिर्देशकमा बेदकुमार ढकाललाई पदस्थापन गरिएको छ ।
सहसचिवमा पदोन्नती भएपछि वन तथा वातावरण मन्त्रालयमा हाजिर लगाउँदै आएका ढकाललाई मन्त्रीस्तरीय निर्णयबाट विभागको उपमहानिर्देशक पदमा सरुवा गरिएको हो ।
मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले भने, विभागमा ढकालजीको पदस्थापन भएको छ । अब विभागका कामले थप प्रभावकारी रुपमा गति लिन्छन् ।
दुई जना उपमहानिर्देशकको दरबन्दी रहेको विभागमा यस अघि महानिर्देशकमा डा. रामचन्द्र कँडेल मात्रै थिए । ढकालको पदस्थापन भएपनि उपमहानिर्देशकको अर्काे सिट भने अझै खाली रहेको छ ।

गणेश पन्त
विभागका महानिर्देशक डा. कँडेलले भने, उहाँ ढकालजी आएपछि मलाई काम गर्न सहज हुने भएको छ । अर्काे उपमहानिर्देशक पदका लागि लोकसेवाले परीक्षा लिइसकेको हुँदा चाँडै पदपूर्ति हुने छ ।
त्यसैगरी विभागको इकोलोजि शाखामा गणेश पन्तलाई जिम्मेवारी तोकिएको छ । पन्तले काम सुरु गरिसकेका छन् । पन्त विद्याबारिधिको लागि चार वर्षे अष्ट्रेलियाको अध्ययन सकेर हालै विभाग फर्किएका हुन् ।
बाँके, सगरमाथा लगायतका राष्ट्रिय निकुञ्जमा बसेर फिल्डस्तरको राम्रो अनुभव बटुलेका पन्त युवा, अध्ययनशिल र सिर्जनात्मक सोचका व्यक्ति भनेर चिनिन्छन् । विभागको एक महत्वपूर्ण शाखाका रुपमा लिइने इकोलोजि शाखामा पन्तको पदस्थापन भएसँगै विभागले उत्कृष्ट काम सम्पादन गर्ने अपेक्षा राखिएको छ ।