पर्वतीय दिगो विकासका लागि मुस्ताङ घोषणा पत्र जारी

काठमाडौँ । अन्तराष्ट्रिय दिगो पर्वतीय विकास वर्ष मनाउने क्रममा दुई दिने दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलन पश्चात् मुस्ताङ घोषणा पत्र जारी गरिएको हो ।

सम्मेलनले नेपाल जस्ता पर्वतीय मुलुकका लागि दिगो विकास लक्ष्य हासिल गर्न पर्वतीय मुद्दाहरुलाई विकसित मुलुकहरुले गम्भीर रुपमा लिनुपर्ने र सोही अनुरुप नेपाल जस्ता कम विकसित मुलुकलाई जलवायु वित्तमा सहयोग पु¥याउनु पर्ने उल्लेख गरेको छ ।

त्यसैगरी दिगो पर्वतीय विकासका लागि जलवायु परिवर्तन, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता, पर्वतीय महिला, पर्वतीय संस्कृति र पर्वत–समथर अन्तरसम्बन्धलाई अलग अलग र एकीकृृत रुपमा सम्बोधन गर्दै आफ्ना नीति, कार्यक्रम, बजेट तथा अभ्यासहरुमा आन्तरिकीकरण गर्न नेपाल सरकार, प्रदेश सरकारहरु तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

संसारको सबैभन्दा अग्लो पर्वत श्रृंखला सगरमाथा पनि भएको मुलुकका नाताले विश्वका अन्य मुलुकहरुसंँग हातेमालो गर्दै अन्तराष्ट्रिय मञ्चहरुमा पर्वतीय देशका सवाल र समाधानका उपायहरुलाई अन्तराष्ट्रियकरण गर्न सरकारलाई सम्मेलनले अनुरोध गरेको छ ।

पर्वतीय विषयलाई क्षेत्रीय तथा अन्तराष्ट्रिय समन्वय, साझेदारी र सहकार्य समेत आवश्यक पर्ने हुँदा हिन्दुकुश पर्वतीय क्षेत्रका देशहरु बीचमा मन्त्रीस्तरीय क्षेत्रीय परिषद् गठनका लागि पहल गर्न हिन्दुकुश हिमाली क्षेत्रका देशहरुलाई यो सम्मेलनले आह्वान गरेको छ ।

पर्वतीय क्षेत्रमा रहेका उच्च बजार मूल्य भएको जडीबुटीको सदुपयोग गर्दै हिमाली अर्थतन्त्रलाई सबल बनाउने प्रकृतिमा आधारित बजारीकरण, हरित व्यवसाय सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गर्ने र सो कामका लागि सघाउन अन्तर्राष्ट्रिय समुदायलाई पनि अनुरोध गरेको छ ।

हिमाली अर्थतन्त्रलाई सबल बनाउन उद्यमशिलता विकास गर्नुपर्ने र त्यसका लागि युवा, स्थानीय आदिबासी जनजातिलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिएको छ । त्यसका लागि हिमाली क्षेत्रमा वातावरण नबिग्रने गरी पूर्वाधारको विकास गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

पर्वतीय दिगो विकास गर्न हिमाली क्षेत्रका लागि विशेष परियोजना र कार्ययोजना निर्माण गर्न सरकारसँग आग्रह गरेको छ भने नीजि क्षेत्रलाई पनि सुगम र तराईका क्षेत्रमा लगानी गर्नुका सट्टा उच्च हिमाली क्षेत्रको सम्भाव्यता खोजनीति गरी लगानी गर्न आग्रह गरेको छ । त्यसका लागि आवश्यक नीति निर्माण तयारीका लागि सरकारसँग अनुरोध गरेको छ ।

संयुक्त राष्ट्र संघले सन् २०२२ लाई अन्तराष्ट्रिय दिगो पर्वतीय विकास वर्षका रुपमा घोषणा गरी पर्वतीय विषयलाई विशेष महत्व दिएको छ । त्यसै अनुरुप नेपालले यस अघि चन्द्रागिरी डाँडाबाट पर्वतीय दिगो विकासका लागि स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय नीति निर्माण र सम्वन्यका सवालमा सम्मेलन गरिसकेको छ । मुस्ताङमा आयोजना गरिएको यो कार्यक्रम दोस्रो चरणको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here