‘जलवायु परिवर्तनको असरले हामी आक्रान्त भयौँ’

मुस्ताङ । विश्व तापक्रम वृद्धिको असर सबैभन्दा बढी हिमाली क्षेत्रहरु आक्रान्त भएको अनुभव यहाँका स्थानीय बासिन्दाले सुनाएका छन् ।


दिगो विकास इन्स्टिच्युटद्वारा आयोजित जलवायुजन्य हानी तथा नोक्सानी सम्बन्धी एक कार्यशाला गोष्ठीमा मुस्ताङको कागबेनीका स्थानीय बासिन्दाले पछिल्ला दिनमा जलवायु परिवर्तनको असरले आफूहरुलाई पीडित बनाएको बताएका छन् ।
कार्यक्रममा मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले पछिल्ला दिनमा हेर्दा हेर्दै हिमालको हिउँ पग्लेर कालो पहाड देखिन थालेको र कहिल्यै पानी नपर्ने ठाउँमा पानी पर्न थालेको तर हिउँ पर्न छाडेको अनुभव सुनाए ।

गोष्ठीमा सहभागी मुस्ताङका स्थानीय बासिन्दा ।


जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले पछिल्ला वर्षमा तातो चिसोको अनुमान गर्न नसक्ने गरी हावापानीमा परिवर्तन आएको बताइन् । उनले भनिन्, के भएर यस्तो भएको हो ? पहिले भन्दा अहिले यहाँको हावापानी, खेतीपाती, उत्पादनमा निकै फरक देखिन थालेको छ ।

गोष्ठीमा सहभागी विज्ञ तथा मुस्ताङका स्थानीय बासिन्दा ।


बारागुङ वारागुङ—४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले जलवायु परिवर्तनले मुस्ताङको जनजीवन खलबलिएको बताए ।
मुस्ताङको कागबेनीमा गत साउन २८ गतेको ठूलो बाढीले करोडौंको भौतिक संरचना,कृषि र पशुचौपायाहरुमा क्षति पुगेको थियो । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ आउने जाने बाटो समेत अवरुद्ध भयो । सो बाढीबाट एक दर्जन बढी घरधुरी विस्थापित समेत भएका थिए । बाढी प्रभावित क्षेत्रका स्थानीय आवाजलाई समावेश गर्दै जलवायु सचेतना अभिवृद्धि गर्न सो संस्थाद्वारा यो कार्यक्रम गरिएको हो ।

गत साउनमा आएकोब बाढीले भएको क्षति ।


सो अवसरमा कागबेनी बजार पूनः स्थापना समितिका अध्यक्ष समेत रहेका फेञ्चोक छेप्तेन गुरुङले स्थानीयस्तरबाट ठूलो मानवीय तथा भौतिक सहयोग प्राप्त भएपनि राज्य स्तरबाट अपेक्षा गरेअनुरुपमा सहयोग प्राप्त नभएकोमा गुनाशो व्यक्त गरे । उनले मुस्ताङको कागबेनी धार्मिक हिसावले अत्यन्तै महत्वपूर्ण तीर्थस्थल भएको बाढीले क्षति भएका संरचनाको तत्काल पुर्ननिर्माण आवश्यक भएको बताए ।


बारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले कागबेनीमा बाढीको क्षति विवरण सम्बन्धित निकायलाई बुझाई सकिएको भएपनि ती निकायले खासै चाँसो नदिएको दावी गरे । उनले कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई जोगाउन नदी बाहव क्षेत्र सुनिश्चित गर्नुपर्ने पनि बताए ।

गत साउनमा आएकोब बाढीले भएको क्षति ।


जलवायु परिवर्तनका कारण मुस्ताङमा ३० वर्षको तुलनाका छ गुणा बढी वर्षा हुन थालेको जलवायुजन्य हानी तथा नोक्सानी फोकल पर्सन वन तथा वातावरण मन्त्रालयका उपसचिव हरिप्रसाद शर्माले बताए । उनले ३० वर्ष अघि औसत १० मिलिमिटर वर्षा हुने गरेको मुस्ताङमा पछिल्लो समय ६० मिलिमिटरसम्म वर्षा हुन थालेको उल्लेख गरे । मुस्ताङको भूगोल बलौटे पत्थरिलो माटो भएकाले यहाँको संरचना दिगो बनाउन भूगोलमैत्री हुनुपर्ने पनि उनले सुझाए ।


कार्यक्रममा दिगो विकास इन्स्टिच्युटका कार्यक्रम निर्देशन एवं जलवायु परिवर्तन विज्ञ अभिषेक श्रेष्ठले जलवायुजन्य हानी तथा नोक्सानी विषयका कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here