दुबईमा नविकरणीय ऊर्जाको अनुभव सुनाउँदै नेपाल

काठमाडौँ । जलवायु परितर्वन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व शिखर सम्मेलन (कोप २८) मा नेपालले नविकरणीय ऊर्जामा भएका हालसम्मका प्रगति, चुनौती र सम्भावनाका विषयमा विश्व समुदायसँग छलफल गर्ने भएको छ ।


वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र विश्व वन्यजन्तु कोषको अगुवाईमा हुन थालेको सो कार्यक्रममा नविकरणीय ऊर्जामा सहयोग गरिरहेको दाता मुलुक जर्मन तथा नविकरणीय ऊर्जामा काम गरिरहेको कम विकसित मुलुक भियतनाम, युगाण्डाले पनि आफ्ना अनुभवहरु सार्वजनिक गर्ने भएका छन् ।


विश्व वन्यजन्तु कोष जलवायु परिवर्तन तथा ऊर्जा कार्यक्रम प्रमुख आरती खड्गीका अनुसार डिसेम्बर ५ मा सम्मेलन स्थलमा नेपाल सरकारले लिएको पेभिलियनमा सो कार्यक्रम आयोजना गरिने छ । नविकरणीय ऊर्जा न्यायका विषयमा काम गर्दै आइरहेको संस्था दीगो विकास इन्स्च्यिूट सहितको सो कार्यक्रममा सहभागिता रहने भएको छ ।


हाल नेपालमा कुल ऊर्जा उत्पादनको तीन प्रतिशत मात्र नविकरणीय ऊर्जाको योगदान रहेको बताइएको छ । नविकरणीय ऊर्जा विकासका लागि जर्मनले नेपाललाई सहयोग गर्दै आइरहेको छ । ऊर्जाको विकास मात्र भएर हुँदैन, न्यायोचित वितरण र सेवा प्रवाहको कुरा पनि विश्व मञ्चमा उठ्ने गरेको सन्र्दभमा ग्रामीण क्षेत्रमा नविकरणीय ऊर्जाको विकास र विस्तारमा नेपालले जोड दिनुपर्ने कार्यक्रम प्रमुख खडगीले बताइन् ।


उनका अनुसार नेपाल, भियतनाम र युगाण्डा कम विकसित मुलुकबाट विकासतर्फ हिँडिरहेको मुलुक भएकाले नविकरणीय ऊर्जाको विकासमा गरेको सफल कामहरु, थप सम्भावना, देखिएका चुनौती र आवश्यक वित्तीय र प्राविधिक सहयोगका बारेमा विश्व समुदायलाई जानकारी दिन सो कार्यक्रम फलदायी हुनेछ । त्यसैगरी नविकरणीय ऊर्जामा उल्लेख्य प्रगति गरेको र कम विकसित मुलुकलाई सहयोग गरिरहेको जर्मनका अनुभव र सहयोगको नीति बारे पनि सो कार्यक्रममा जानकारी हुने उनले बताइन् ।


दिगो विकास इन्स्च्यिूटका कार्यक्रम निर्देशक अभिशेष श्रेष्ठले नविकरणीय ऊर्जाको विकास मात्र नभई न्यायोचित वितरण र विकास हुनुपर्ने बताए । उनले भने, न्यायोचित विकास र वितरणमा ध्यान दिन जरुरी छ ।


नेपालमा जलविद्युत् उत्पादन गर्दा ठूलो रुपमा वातावरणीय र सामाजिक प्रभाव पर्ने र स्थानीय बासिन्दाको स्थानान्तरण गर्नुपर्ने हुँदा ऊर्जा विकासका कतिपय आयोजनाहरु जैविक विविधता, संरक्षण र स्थानीय बासिन्दाको हितमा नहुने गरेको विज्ञहरुले बताउँदै आएका छन् । अर्काेतर्फ जलवायु परिवर्तनको असरले हिमालको हिउँ पग्लिने दर निकै द्रुत गतिमा बढीरहेको बेला हिमनदीमा पानीको मात्रा घट्दै जाने हो भने जलविद्युत् आयोजनाबाट बिजुली उत्पादनमा पनि चुनौती थपिदै जान थालेका छन् । त्यसैले नविकरणीय ऊर्जा ( वायु ऊर्जा, सौर्य ऊर्जा आदि) लाई प्रवर्धन गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here