नेकपा एमाले र माओबादी केन्द्रको मन अझै मिलेन


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठनिक एकताको व्यवहारिक टुङ्गो चाँडै नलाग्ने संकेत देखा परेका छन् ।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरणको घोषणा गर्दै तीन महिनाभित्र सबै तहको साङ्गठानिक एकतालाई पूर्णता दिने भनिएको थियो, तीन महिना भन्दा पनि एक वर्ष पुग्नै लाग्दा समेत एकता प्रक्रिया अझै टुङ्गिएको छैन ।
पार्टीको मूल कमिटीबीच एकीकरणको घोषणा भएपछि बाँकी रहेका सङ्गठनको एकता टुङ्गो लगाउन विभिन्न कार्यदल गठन भए तर ती कार्यदलले ठोस खाका हालसम्म पनि निर्माण गर्न सकिरहेको छैन ।
पुस १३ गते सम्पन्न पार्टीको स्थायी कमिटीको बैठकले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले पनि हालसम्म खासै काम गर्न सकेको छैन । कार्यदललाई पुस मसान्तसम्म एकीकरणका लागि गृहकार्य गरी प्रतिवेदन बुझाउन बैठकले निर्देशन दिएको थियो । सोही अनुसार कार्यदलले काम पनि सुरु गरेको थियो ।
पुस मसान्त भित्र काम नसकेपछि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० दिनको म्याद थप्ने निर्णय गर्नु भएको थियो । सो अवधिमा पनि कार्य पूरा हुन सकेको छैन ।
कार्यदलमा रहेका नौ जना सदस्यमध्ये चारजना मन्त्रीको जिम्मेवारी रहेकाले पनि कार्यदलमा पर्याप्त समय दिन नसकेको बताइएको छ । उहाँहरूको कार्यव्यस्तता कारण बैठक प्रभावित भइरहेको कार्यदलका नेकपाका नेता तथा कार्यदल सदस्य लेखराज भट्टले बताउनुभयो ।
कार्यदलमा रहनुभएका रामबहादुर थापा गृहमन्त्री, वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री र शङ्कर पोखरेल प्रदेश ५ का मुख्यमन्त्रीको पदमा हुँदा कार्य व्यस्तता रहेको देखिन्छ ।
यो पुरा अवधिमा सातवटा बैठक मात्र बसेको छ । ती सबै बैठक निष्कर्ष विहिन भइरहेका छन् । नेता भट्टका अनुसार हालसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।
तल्लो तहसम्मको एकीकरण टुङ्गो नलाग्दा सङ्गठनको कामकारबाहीमा पक्कै अप्ठ्यारो भइरहेको भन्ने पार्टीका शिर्षस्थ नेतृत्वको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here