बागलुङ । गत साउन २६ गते आएको अत्याधिक बाढीबाट क्षति भएसँगै बन्द भएको १३.५ मेगावाटको थापाखोला जलविद्युत् आयोजना छ महिनापछि पुनः सञ्चालनमा आएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको टुकुचेमा दुई अर्ब ५० करोड रुपियाँमा निर्माण गरिएको उक्त आयोजनामा बाढीले क्षति पुर्याएपछि छ महिनादेखि आयोजनाको उत्पादन बन्द भएको थियो ।
बाढीले जलविद्युत् आयोजनाको ड्याम, सुरुङ तथा ड्याममा राखिएका मेसिनमा क्षति पुर्याएको थियो । बन्द जलविद्युत् आयोजना ३० करोड रुपियाँ खर्च गरेर मर्मत गरिएपछि नियमित विद्युत् उत्पादन सुरु भएको आयोजनाका इलेक्ट्रिकल इन्जिनियर सुदीप भण्डारीले जानकारी दिनुभयो ।
माउन्ट कैलाश इनर्जी कम्पनीले २०६९ वैशाखबाट निर्माण सुरु गरेको उक्त जलविद्युत् आयोजनाबाट उत्पादिन विद्युत् २०७४ मङ्सिर ७ देखि केन्द्रीय प्रशारण लाइनमा जोडिएको थियो । आयोजनाले विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्नकै लागि आफ्नै लगानीमा सब स्टेसन निर्माण तथा म्याग्दीको दानादेखि कोवाङसम्मको पुरानो तार विस्थापित गरी नयाँ तार जडान गरेर विद्युत् बिक्री सुरु गरेको थियो । नियमित उत्पादनमा गएको केही महिनामै बाढीका कारण क्षतिग्रस्त हुँदा ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेको कम्पनीले जनाएको छ ।
बाढीले क्षती पुराएको झिरुङमा रहेको ड्याम, एक हजार आठ सय ३० मिटर लामो सुरुङमार्ग र विभिन्न इलेक्ट्रिक मेसिनलाई पूर्णरुपमा मर्मत गरी नियमित विद्युत् उत्पादन सुरु गरिएको सुदीप भण्डारीले बताउनुभयो । वर्षाको समयमा साढे १३ मेगावाट विद्युत् उत्पादन हुने उक्त आयोजनाबाट अहिले चारदेखि पाँच मेगावाट विद्युत् उत्पादन भइरहेको भण्डारीले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख कपिल पाण्डेले अर्बौँ खर्च गरेर निर्माण गरिएको विद्युत् उत्पादन बन्द हुँदा कम्पनीलाई ठुलो नोक्सानी भएको बताउनुभयो । ‘थापाखोलाबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएका कारण विद्युत उत्पादन बन्द हुँदा धौलागिरिलाई केही प्रभाव नपरेपनि राष्ट्रिय स्तरमा साढे १३ मेगावाट विद्युत् कम उत्पादन हुँदा केही समस्या परेको प्रमुख पाण्डेले बताउनुभयो ।