नचल्दै थन्किए विद्युतीय बस

काठमाडौँ । एसियाली विकास बैँकको सहयोगमा खरिद गरिएका विद्युतीय बस सञ्चालन हुनुको सट्टा ग्यारेजमा थन्किन थालेका छन् ।

यातायातका साधनबाट वातावरणीय प्रदुषण भएको भन्ने अध्ययन अनुसन्धानले देखाइरहेका बेला विद्युतीय बसको चर्चा भएपछि विशेष गरी वातावरणविद्हरुले यसलाई निकै राम्रो कार्यका रुपमा टिप्पणी गरेका थिए तर दुर्भाग्य नै भन्नुपर्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ती बस नचल्दै ग्यारेजमा थन्किएका छन् ।

सो कार्यक्रमको उद्घाटन भाषणमा प्रधानमन्त्री ओलीले आफुले विद्युतीय बस चढेर सिँहदरबार जाने बताएका थिए । प्रधानमन्त्रीको यो सपना बिचैमा तुहिन पुगेको छ ।

लुम्बिनीमा चलाउन भनेर ल्याएका बस काठमाडौंमा चलाउने सम्झौता नहुँदा पनि हतारमा किन प्रधानमन्त्रीले उद्घाटन गरे भन्ने अझै थाहा हुन सकेको छैन । चीनबाट आयात गरिएको ती बस प्राविधिक रुपमा उपयुक्र्त नभएको नेपाली प्राविधिकहरुले भन्दा पनि प्रधानमन्त्री ओलीले हतारमा उद्घाटन गरेका थिए ।

प्राप्त जानकारी अनुसार ती बसको उत्पादन मिति खुलेको छैन। उत्पादन परीक्षण रिपोर्ट पनि छैन। तोकिएको भारवहन क्षमताभन्दा कमका छन् र न्यूनतम लाइफसाइकलको सुनिश्चिता छैन। बसमा प्रयोग भएका सामान पनि निकै कमसल भएको र पुराना गाडीका समान प्रयोग गरेको पाइएको छ । बसको बाहिरी आवरण हेर्दा टलक्क टल्किने छन् भने भित्री भागमा खिया लागेको पनि देखिएका छन् ।

सम्झौताअनुसार मापदण्ड पुरा नगरेका गाडी नेपाल आएको समितिको प्रतिवेदनका आधारमा तत्कालीन पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले बस स्वीकार नगर्ने निर्णय गरेका थिए ।

लुम्बिनी विकास कोषका लागि भनेर एसियाली विकास बैंकको सहयोगमा आएका ती बस भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म साझा यातायातले काठमाडौंमा चलाउने भन्दै काठमाडौं ल्याइएको थियो। बस अहिले साझाको ग्यारेजमा थन्किएका छन्।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here