ठाकुरद्धारा, बर्दिया । ३५ औँ वार्डेन सम्मेलन तथा १७ औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक बर्दियाको ठाकुरद्धारामा सुरु भएको छ ।
सम्मेलनको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले उद्घाटन गर्नुभयो । महानिर्देशक खड्काले ‘समृद्ध नेपाल: सुखी नेपालीको सपना’ पर्यापर्यटनको विकासबाट मात्र सम्भव रहेको बताउनुभयो । नेपालको आर्थिक समृद्धिका लागि पर्यटन व्यवसाय प्रमुख आधार भएको र पर्यटन व्यवसायका लागि संरक्षित क्षेत्र नै ठूलो र महत्वपूर्ण खम्बा भएकाले पर्यापर्यटनको विकासले देशको आर्थिक विकासमा टेवा पुग्नेमा उहाँले जोड दिनुभयो ।
निकुञ्ज, आरक्ष गरी २० वटा संरक्षित क्षेत्र, कञ्चनजंगा, अपीनाम्पा र कृष्णसार संरक्षित क्षेत्रका प्रमुख संरक्षण अधिकृत, नेपाली सेना तथा व्यवस्थापन समिति र परिषदका पदाधिकारीहरुको सम्मेलनमा सहभागिता रहेको छ ।
त्यसैगरी विभागका पूर्व महानिर्देशक, पूर्व उपमहानिर्देशक, पूर्व प्रमुख संरक्षण अधिकृत, नेपाली सेनाका पूर्व जर्नेल, संरक्षण साझेदार संस्थाका प्रमुख, संरक्षणकर्मी तथा विज्ञहरुको पनि सहभागिता रहेको छ ।
सम्मेलनको पहिलो दिन राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यकारी निर्देशक डा. सिद्धार्थ ब्रजाचार्यले नेपालको पर्यापर्यटनको विकासमा संरक्षित क्षेत्रको भूमिका, डब्लुडब्लुएफका भरत गोतामेले नेपालमा पर्यापर्यटनको विकास, सम्भावना र चुनौती र नेपाल पर्यटन बोर्डका जितेन्द्र भट्टराईले विश्व परिदृश्यमा नेपालको पर्यापर्यटनको स्थिति विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
तीन वटै कार्यपत्रमाथि विभागका पूर्व महानिर्देशक फणिन्द्र खरेल, अपीनाम्पा संरक्षण क्षेत्रका प्रमुख किशोरी महतो, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख अमिर महर्जन, सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराई, ताल कार्यक्रमका प्रमुख मनोज साह लगायतका व्यक्तिहरुले टिप्पणी गर्नुभयो ।
तीन दिनको कार्यक्रम दुई दिनमै
पूर्व कार्यक्रम अनुसार सम्मेलन १६ गते देखि १८ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम रहेको थियो । पर्यटन मन्त्री रविन्द्र अधिकारीको दिवंगत हुनुभएकाले राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय अनुसार संरक्षणकर्मीहरुले पनि १६ गतेको उद्घाटनको दिनलाई शोक दिवसका रुपमा मनाएका छन् । जसले गर्दा तीन दिनको कार्यक्रम छोट्याएर १७ र १८ गते सम्पन्न गरिने भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्न वन तथा वातारण मन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली पनि बर्दिया आउने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सबै संरक्षण क्षेत्रका तर्फबाट आ आफ्नो क्षेत्रमा भए गरेका प्रगति, चुनौती तथा सम्भावनका विषयमा कार्यपत्र प्रस्तुत गरिने भएका छन् । संरक्षण साझेदार संस्था, नेपाली सेना, मध्यवर्ती क्षेत्र व्यवस्थाप समितिका तर्फबाट पनि कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
फोटो फिचर