काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित वायु सेवा प्रदायक कम्पनीको रुपमा देखा परेको सौर्य एअरलाइन्सले विगतमा देशका प्रमुख सहरमा भरपर्दाे सेवा दिइरहेको भएपनि केही समययता बन्द भएको अवस्थामा थियो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने रकम तिर्न नसकेपछि विमानस्थलले एअरलाइन्सको उडान रोकेको बताइएको छ । हाल सो एअरलाइन्सले बक्यौता रकम बुझाएपछि उडान पुनः सुरु हुने भएको छ ।
करिब चार महिना अघिदेखि उडान रोकिएको सो एयरलाइन्सले नियमित उडान गर्ने भएको हो । भारतीय कम्पनी कुबेर समूहले खरीद गरेको सौर्यले पहिलो किस्ताबापत ५० लाख रुपियाँ तिरेको विमानस्थल कार्यालयले जनाएको छ ।
हाल धनगढी, विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्जका लागि उडान गर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान गर्ने योजना बनाएको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थलाई जरिवानासहित चार करोड रुपियाँ बक्यौता रकम तिर्नुपर्ने हुन्छ। अबका १० दिनभित्र थप ५० लाख रुपियाँ र दुई महिना भित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो।
सौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले बक्यौता बुझाउँदै सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । अबको एक महिनाभित्र सबै बक्यौता रकम तिरिसक्ने उहाँले बताउनुभयो । विमानस्थलले सेवा शुल्क नतिरेको भन्दै गत मङ्सिर ११ गतेदेखि सौर्यका जहाज ग्राउण्डेड गरेको थियो । आर्थिक सङ्कटमा परेको सौर्य केही साताअघि मात्र भारतीय लगानीकर्ता कुबेर समूहले ६३ करोड रुपियाँमा खरीद गरेको थियो । सो समूहले ४९ प्रतिशत भारतीय तथा ५१ प्रतिशत नेपालीका नाममा खरीद गरेको जनाएको छ।
हाल दुई ओटा बम्बार्डिएर जहाजमार्फत उडान गर्दै आएको सौर्यले अबका ६ महीनाभित्र तीन ओटा एटिआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिनुभयो । कम्पनीले नयाँ जहाज खरीद गरेसँगै नयाँ गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान गर्ने योजना रहेको जनाएको छ।