किन बन्दैछन् देशभरी ८६० पोखरी ?

काठमाडौँ । अहिले देशभर एकसाथ ८६० वटा पोखरी निर्माण भइरहेका छन् । किन यति ठूलो मात्रामा पोखरीको निर्माणको कार्य भइरहेका छन् ? यो कौतुहलताको विषय हुन सक्छ ।

नेपालले दुर्लभ वन्यजन्तु संरक्षणका लागि निकै राम्रो प्रतिफल हासिल गरेको छ । त्यसको अर्काे पाटो हेर्दा वन्यजन्तु वृद्धि भएसँगै घाँसे मैदान व्यवस्थापन, पानीको स्रोतको व्यवस्थापन तथा समग्रतामा वासस्थान व्यवस्थापन हुन नसक्दा संरक्षित क्षेत्र, मध्यवर्ती तथा राष्ट्रिय वनबाट वन्यजन्तु वस्तीमा प्रवेश गर्न थालेका छन् । जसले गर्दा मानव वन्यजन्तुबीचको द्धन्द्धका घटना दिनप्रतिदिन वृद्धि भइरहेका छन् ।

वन तथा वातावरण मन्त्रालयका अनुसार यही कुरालाई दृष्टिगत गरी विशेष गरी तराईका संरक्षित क्षेत्र भित्र र राष्ट्रिय वनमा गरी ८६० पानी पोखरीहरु निर्माण गरिन थालिएको छ । चालु आर्थिक वर्षभित्रै यी पोखरीको निर्माण कार्य सम्पन्न गरिने योजना बनाइएको छ ।

वन तथा वातावरण मन्त्रालयका अनुसार राष्ट्रिय वन भित्र चालु आर्थिक वर्षमा ५०० वटा पोखरी निर्माण गर्ने कार्यक्रम रहेको छ । वन्यजन्तुको ओहोरदोहोर हुने तथा वासस्थानको अध्ययन गरी आवश्यक स्थानमा ती पोखरी निर्माण गरिने भएका छन् । पानीको स्रोत कम भएका स्थानमा पोखरी निर्माण गर्दा वन्यजन्तुका लागि सहज हुने दावी मन्त्रालयले गरेको छ ।

त्यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि तराई क्षेत्रका संरक्षित क्षेत्रमा वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न पोखरी निर्माण गर्ने भएको छ । विभागका अनुसार कोशीटप्पु, पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी कुल ३६० वटा पोखरी निर्माण हुने भएका छन् । हाल हरेक संरक्षित क्षेत्रमा ४० वटा पोखरीका दरले निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ । बाँकी २०/२० पोखरी निर्माणको क्रममा रहेका छन् ।

प्रमुख संरक्षण अधिकृत अमिर महर्जन
पर्सा राष्ट्रिय निकुञ्ज

पर्सा राष्ट्रिय निकुञ्जका सुख्खा क्षेत्रको पहिचान गरी ४० वटा पोखरी निर्माण गर्ने कार्य सम्पन्न भइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले बताउनुभयो । उहाँका अनुसार अब बाँकी २० वटा पोखरी निर्माण हुने क्रममा रहेका छन् । उहाँले भन्नुभयो, पर्सा राष्ट्रिय निकुञ्ज हात्ती, बाघ, एकसिँगे गैँडा, गौरी गाई लगायतका वन्यजन्तुका लागि निकै उर्वरभूमि हो तर पानीको स्रोतका अभावका निकुञ्ज भित्रका वन्यजन्तु बाहिर जान बाध्य हुँदा मानव वन्यजन्तु द्धन्द्धका घटना हुने गरेका छन् । त्यही कुरालाई दृष्टिगत गरी हामीले निकुञ्ज भित्र र मध्यवर्ती क्षेत्रमा ४० वटा पोखरी निर्माण गरिसकेका छौँ । बाँकी २० वटा पोखरी पनि निर्माण गर्ने योजना रहेको छ ।

केही समययता पर्सा राष्ट्रिय निकुञ्जबाट गौरी गाई वस्ती बाहिर निस्केर मृत अवस्थामा फेला परेको घटना सार्वजनिक भएको छ । केही वन्यजन्तुलाई स्थानीयले उद्धार पनि गरेर निकुञ्जलाई बुझाएका छन् ।

पर्साको अधिकांश क्षेत्र सुख्खा भएकाले पानी पोखरी निर्माण गरी गर्मी यामका लागि वन्यजन्तुलाई पानीको व्यवस्थापन गर्न निकुञ्जले पोखरी निर्माण गर्न थालेको भएपनि ती पोखरीमा पानी भर्नुपर्ने चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here