कर्णाली नदीमा तेस्रो नदी शिखर सम्मलेन हुँदै

काठमाडौँ । मुलुककै स्वच्छ र वहाव निकै धेरै भएको कर्णाली नदीमा तेस्रो नदी शिखर सम्मेलन आयोजना हुने भएको छ । कर्णाली लगायतका नदीलाई प्रदुषणबाट बचाउन र नदीको दोहन रोक्ने सचेतना फैलाउनका लागि सो शिखर सम्मेलन आयोजना गरिन थालिएको हो ।

बिहीवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उद्घाटन गरेर दैलेखको आठविस नगरपालिकाको राकम कर्णाली क्षेत्रमा शिखर सम्मेलन गरिने नेपाल नदी संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालले मंगलबार बिहान जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक मौसम खनाल

नेपाल कथासँग कुराकानी गर्दै खनालले भन्नुभयो, सुर्खेतमा प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि तथा आगन्तुक पाहुनालाई आउन जान सहज हुने भएकाले उद्घाटनको कार्यक्रम राखिएको हो । त्यसपछि दैलेखको राकम कर्णालीमा गएर तीन दिनसम्म छलफल गरिनेछ ।

नेपालका नदीहरुको व्यवस्थापनका बारेमा व्यापक छलफल गरेर कर्णाली घोषणा पत्र जारी गर्दै शिखर सम्मेलन सम्पन्न हुने भएको छ । कार्यकारी निर्देशक खनालका अनुसार तीन दिनसम्म चल्ने शिखर सम्मेलनमा बिभिन्न आठ वटा थिममा पाँच दर्जन भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् । स्वेदशी तथा विदेशी जलविज्ञ, वैज्ञानिक तथा स्थानीय जानकार व्यक्तिले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

यस अघि दुई वटा शिखर सम्मेलन पनि भइसकेका र ती सम्मेलनले जारी गरेको घोषणा पत्रबाट भएका उपलब्धीका बारेमा पनि यो शिखर सम्मेलनमा समिक्षा गरिने भएको छ ।

विशेष गरेर संघीयता कार्यान्वायनसँगै स्थानी तहबाट नदीको एकोहोरो दोहन भइरहेका बेला यो शिखर सम्मेलन निकै महत्वका साथ हेरिएको छ । स्थानीय तहहरुले वातावरणीय प्रभाव मूल्यांकन लगायतका अध्ययन बिना नै नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवाको एकोहोरो दोहन गर्न ठेक्कापट्टा लगाउँदा देशभरका अधिकांश खोला, नदीनाला जोखिममा पर्दै आइरहेका छन् भने स्वच्छ पानी बग्ने नदीहरु प्रदुषित हुँदै गएका छन् । विश्वमै दुर्लभ मानिएका जलचर तथा पानीमा आश्रित जलपंक्षीको बासस्थान दिनप्रतिदिन भत्किदै गएको बिभिन्न प्रारम्भिक अध्ययनले देखाइरहेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने शिखर सम्मेलनमा २०० भन्दा बढी सरोकारवाला व्यक्तिहरुको सहभागिता रहने संस्थाका कार्यकारी निर्देशक खनालले जानकारी दिनुभयो ।
सम्मेलनले कर्णाली नदीको अवस्थालाई पनि विशेष महत्वका साथ उठान गर्ने भएको छ । कर्णाली नदीको वर्तमान अवस्था बारे आएको प्रतिवेदनलाई कर्णाली प्रदेश सरकारलाई बुझाइने पनि खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here