पानीलाई सम्पत्तिमा रुपान्तरण गरौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका जलस्रोतलाई सम्पत्तीमा रुपान्तरण गर्नु पर्ने बताउनुभएको छ । उहाँले नेपाल लगानी सम्मेलनमा बोल्दै नेपालको आर्थिक विकासका लागि प्राकृतिक स्रोतको सदुपयोग गर्नुको विकल्प नरहेको बताउनुभयो ।

जलविद्युत्मा लगानी सुरक्षित रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको जलविद्युत्मा लगानी गर्न विश्व समुदायलाई आग्रह पनि गर्नुभयो

उहाँले अन्तरदेशीय प्रसारणलाइन निर्माणका निम्ति आधारभूत पूर्वाधार निर्माणको प्रयास भइरहेको, बिम्स्टेक क्षेत्रमा विद्युत् व्यापार गर्ने सन्दर्भमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनमा हालै भएको समझदारीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी आकर्षित गरेको बताउँदै प्रधानमन्त्री ओलीले पानीलाई सम्पत्तिमा रुपान्तरण गर्ने अवसर गुमाउन नहुने तर्क विश्व समुदायका नेतृत्व अगाडि प्रस्तुत गर्नुभयो ।

तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेको जानकारी दिँदै उहाँले द्रुत औद्योगिकीकरणसँगै विद्युत्को आन्तरिक खपतमा वृद्धि भइरहेको तथा भारतको सकारात्मक प्रयासका कारण क्षेत्रीय बजारमा बिजुली बिक्रीको सम्भावना बढेको बताउनुभयो ।

उहाँले आर्थिक नीति तथा वैदेशिक लगानीका लागि सदैव ढोका खुला राख्ने लचिलो देश नेपालले केही संवेदनशील क्षेत्र छाडेर सबै क्षेत्रमा शतप्रतिशत वैदेशिक लगानी खुला गरेको बताउनुभयो ।

निर्धारित मापदण्ड पूरा गरेका उद्योगलाई कर छुटको व्यवस्थाका साथै संस्थागत कर, आयात महसुल र निर्यात सहजीकरणमा आकर्षक प्रोत्साहन दिइएको बताउँदै प्रधानमन्त्री ओलीले प्रतिस्पर्धी कर प्रणाली, परिश्रमी, युवापुस्ता, सस्ता श्रमिक, बहुुसीपयुक्त जनशक्ति र मनासिब खर्चमा उत्पादन लिन सकिने भएकाले लगानीको उच्च प्रतिफल प्राप्त हुनेमा जोड दिनुभयो ।

पूर्वाधार निर्माण वर्तमान सरकारको प्राथमिकतामा परेको, सरकारको त्यो प्रतिबद्धता महत्वपूर्ण पूर्वाधारका क्षेत्रमा भएका प्रगतिले प्रतिबिम्बित गरेका बताउँदै उहाँले भन्नुभयो,“उद्योगका लागि चौबिसै घण्टा विद्युत् आपूर्तिको व्यवस्था गरेका छौँ, अब चाँडै नै हामीसँग अतिरिक्त विद्युत् हुनेछ, देशभित्र र अन्तरदेशीय सडक सम्पर्क विस्तारमा उल्लेख्य सुधार आएको छ अनि केही वर्षअघिसम्म सपनामा सीमित रहेको काठमाडौँ–तराई द्रुतमार्ग अहिले वास्तविकता बन्दै छ । ”

उद्योग स्थापनाका लागि विशेष आर्थिक क्षेत्रमा पूर्वाधार र अन्य सुविधा उपलब्ध रहेको, एउटा आर्थिक क्षेत्र सञ्चालनमा आइसकेको तथा अन्य कैयौ विकासका चरणमा रहेका जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपालको औद्योगिक विकासको आधार तयार पारिएको बताउनुभयो ।

स्थानीय तहमा एउटा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको योजना सुनाउँदै उहाँले हरेक प्रदेशको औद्योगिक उन्नयनका लागि साना तथा मझौला उद्योग स्थापनालाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

संसद्मा रहेका नेपालका सबै राजनीतिक शक्ति बाह्य लगानी प्रोत्साहन एवम् आमन्त्रण गर्न तथा विकासका विषयमा सहमत रहेका त्यसमा राष्ट्रिय सहमतिसमेत रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासको स्पष्ट दृष्टिकोण बोकेको वर्तमान सरकारसँग निजी क्षेत्रको साथ र सहयोग रहेको दोहो¥याउनुभयो । उहाँले सामाजिक–आर्थिक रुपान्तरणको अतिमहत्वपूर्ण साझेदारका रुपमा निजी क्षेत्रलाई चित्रण गर्नुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको अभियानमा नेपाललाई साथ दिन आग्रह गर्दै उहाँले साथीको साथ, सहयोग, समर्थन र ऐक्यबद्धताको महत्व हुन्छ भन्नुभयो । समृद्धितर्फको अवको यात्रामा विलम्ब नगर्ने दृढता व्यक्त गर्दै प्रधानमन्त्रीले अहिलेको नेपालको आवश्यकता द्रुत एवम् व्यापक विकास भएको दोहो¥याउनुभयो ।

“नेपाल व्यापार–व्यवसाय र लगानीका निम्ति तयार छ, हामी तपाईहरूको लगानीको स्वागत गर्छौं, ढुक्क भएर लगानी गर्नोस्, तपाईको लगानीको सुरक्षाका साथै मुनाफाको प्रत्याभूति हुनेछ,” लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्रीले आफ्नो सन्देश सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here