आर्क ब्रिजको नयाँ सम्झौता गरिँदै

काठमाडौँ । बिजुलीबजारस्थित धोबीखोला पुलमा ७० प्रतिशत काम सकिएको छ । बाँकी ३० प्रतिशत कार्य यस अघिको सम्झौताको अवधिमा सम्पन्न नभएकाले थप सम्झौताको तयारी भइरहेको छ । सरकारले चार वर्ष पहिले ‘नेटवर्क आर्क ब्रिज’ निर्माण शुरु गरेको थियो ।

एउटै ठेक्कामार्फत दुई पुलको निर्माण भइरहेकाले औसतमा यो प्रगति पाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । मुख्य सडकको एकातिर पुल सम्पन्न भइसकेको र अर्कातिर साइटमा काम धमाधम भइरहेको आयोजनामा कार्यरत इञ्जिनियर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार यस सडकमा अघिल्ला वर्षमा सुस्त गतिमा काम भए पनि अहिले कामले गति लिएको हो । “पहिले एकातिर विभिन्न अवरोध त अर्कातिर ठेकेदारले ढिलासुस्ती गर्दा काम अघि बढेको थिएन”, उहाँले भन्नुभयो, “अहिले भने भौतिक प्रगति राम्रो देखिएको छ ।” निर्माणाधीन यस पुलमा ढलानको काम भइरहेको इञ्जिनियर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले पुरानो ठेक्का सम्झौताको अवधि सकिएको छ भने नयाँ सम्झौता भइसकेको छैन ।

ठेकेदार कम्पनीले पछिल्लो समयमा काम नियमित गरिरहेकाले उसैलाई सम्झौता थपिने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्पनीले थप भएको समयमा काम गर्ने प्रतिबद्धता गरेपछि नै अवधि थप हुनेछ ।” डिजाइनमा लामो समय लाग्नु र खानेपानी, बिजुली, ढललगायत संरचना नहट्नुले अघिल्ला वर्षमा काममा ढिलाइ भइरहेको आयोजनाले जनाएको छ । अरु पुलमा पहिले विज्ञलाई डिजाइन गराएर मात्रै ठेक्का आह्वान हुने गरेको थियो । यस पुलमा भने ठेकेदार आफैँले डिजाइन गरेको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो ।

आयोजनाले दिएको ढाँचानुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख भएको उहाँले जानकारी दिनुभयो । “ठेक्का अवधि शुरु भएपछिको पहिलो डेढ वर्ष डिजाइनमा नै सकियो”, उहाँले भन्नुभयो, “बाँकी डेढ वर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरूले सरासर काम गर्न पाएका थिएनन् ।”

नेपालमा पहिलो पटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको श्रेष्ठले बताउनुभयो । अरु पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । अरु सामान्य प्रविधि (आरसिसी) भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“अरु पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ ।”

आयोजनाले निर्माणका लागि ठेक्का सम्झौता हुँदा त्यहाँ रहेका संरचना हटाएर ठेकेदारलाई काम गर्न ‘साइट’ खुला गरिदिने प्रतिबद्धता जनाएको हुन्छ । डिजाइन सकिएको एक वर्ष त्यहाँ ‘साइट’ खाली गर्नमा नै लागेको उहाँले बताउनुभयो । सो स्थानमा रहेका खानेपानी, ढल र विद्युत्को हाइटेन्सन लाइन अहिले हटिनसकेकाले काममा बाधा नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामीले बारम्बार सम्बन्धित कार्यालयलाई पत्राचार गर्दा समेत बेवास्ता भएपछि हामी आफैँले त्यहाँका संरचना हटाएका थियौँ ।” जापान सरकारको सहयोगमा निर्माण भएको माइतीघर–तीनकुने सडक छ लेनको भए पनि यहाँ रहेका दुई सडक पुल चार लेनका थिए । निर्माणाधीन धोबीखोला र वाग्मती पुल सम्पन्न भए पनि यो सडक आठ लेनको हुने इञ्जिनीयर श्रेष्ठले बताउनुभयो ।

विश्वका विकसित देशको प्रविधि नेपाल भित्र्याउने समेत उद्देश्यले यस पुलको निर्माण शुरु भएको आयोजनाले जनाएको छ । पुलको माथिल्लो भागमा अर्धवृत्ताकार संरचना निर्माण गरिनेछ । बीचमा बलिया तार जडान हुने र तिनका बीचमा दलिन राखिने श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउनेछ । यस पुल निर्माणका लागि विसं २०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेई कन्स्ट्रक्सन प्रालिसँग पुल निर्माणको सम्झौता भएको उहाँले बताउनुभयो । धोबीखोलाको पुल तीन वर्षमा सक्ने गरी पहिलो पटक ठेक्का सम्झौता भएको थियो । यो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।

यही प्रविधिबाट अरनिको राजमार्गमा नै पर्ने वाग्मती खोला पुलको निर्माण भइरहेको छ । वाग्मती खोलामा पुल निर्माण धोबीखोलामा भन्दा ढिलाइ भइरहेको छ । वाग्मती पुल निर्माण औसतमा ३० प्रतिशत मात्रै भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here