जङ्गली हात्तीले दश घरमा क्षति

राजविराज । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणले सप्तरीको उत्तरी क्षेत्रमा आज बिहान १० घरमा क्षति गरेको छ ।

सो हात्तीको समूहले शम्भुनाथ नगरपालिका–२ स्थित कनकपट्टी टोलमा हात्तीले १० घर भत्काउँदा करीब रु तीन लाख बराबरको क्षति गरेको प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार कनकपट्टी बस्ने दुर्गानन्द सरदारको एक, फुलोदेवी सरदारका दुई फुसका घर, लक्ष्मण शर्माको एउटा फुसको घर भत्काउनुका साथै अन्नको क्षति गरेको छ । यस्तै देवी चौधरीको फुसको घर, कमल शर्माको फुसको घर, देवेन्द्र रामको फुसको घर,।उमेश्वर साहको टिनको छानो भएको घर भत्काउनुका साथै अन्न जङ्गली हात्तीले क्षति गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

देव कुमारी सरदारको टिनको छानो भएको घर, दनाइ सरदारको फुसको घर र सूर्यनारायण चौधरीको खेतमा लगाइ धानवालीसमेत नष्ट गरेको प्रहरीले जनाएको छ । हिजो मात्र हात्तीको समूह जङ्गल हुँदै रुपनीका विभिन्न क्षेत्रमा प्रवेश गर्न लागेको खबर आएपछि पुगेको प्रहरी टोलीले चार राउण्ड हवाई फायर गरी हात्ती धपाएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।

कोशी टप्पु वन्यजन्तु आरक्षका हात्तीको आक्रमणमा परी जिल्लामा एक वर्षभित्र छ जनाको ज्यान गइसकेको छ । यस अवधिमा हात्तिले ४८ घर भत्काएको छ भने १०० बिघाभन्दा बढी जमीनमा लगाइएको अन्नबाली नष्ट गरेको स्थानीय कृषक सीताराम चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here