डडेल्धुरामा बाँदर आतङ्क

अमरगढी । डडेल्धुरामा विभिन्न स्थानमा बाँदरले अन्नबाली खान थालेपछि किसान चिन्तित भएका छन् । खेतीपातीबाट घर खर्च चलाइरहेका यहाँका किसानलाई जङ्गली जनावरले लगाएको अन्नबाली खान थालेपछि के खाने, के लाउने भन्ने समस्याले पिरोल्न थालेको छ ।

जिल्लाका सात वटै स्थानीय तहमा जङ्गली जनावरले खेतमा लगाएको मकैबाली, दलहन तथा तरकारी सबै नष्ट गर्ने गरेको स्थानीयवासीको भनाइ छ । विगत ६/७ वर्षदेखि बाँदर आतङ्कले सताएको अमरगढी नगरपालिका—८ का स्थानीयवासी लक्ष्मी गैरालले बताउनुभयो । खाना पकाएर अन्य कामका लागि बाहिर गएको बेला बाँदरले घरभित्र पसेर खाना पनि खाइदिने गरेको छ । उहाँले भन्नुभयो, “दिनभरि बाँदर धपाउनुपर्छ, घरको काम सबै छुट्छ । के खाने, के लगाउने भन्ने पीर हुन्छ ।”

बाँदरले लगाएको खेती सखाप पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकामा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको अमरगढी—८ का कृषक बिस्ना गैरालले बताउनुभयो । लगाएको अन्नबाली जङ्गली जनावरले नष्ट गर्न थालेपछि किसान खेतबारी बाँझै छोडेर विदेश जाने क्रम बढेको छ ।

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको छ । कृषकले राज्यले बालीनालीको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन् । गाउँमा मान्छेभन्दा बाँदर धेरै आउने गरेको अमरगढी—११ फिन्नेकोटका स्थानीयवासी लोकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गर्दासमेत दिएनन् ।”

स्थानीयवासीले बाँदर धपाउनका लागि स्थानीय प्रशासनले सहयोग गर्नुपर्ने माग गरेका छन् । बाँदर आतङ्क भए पनि स्थानीय सरकारले केही पनि पहल नगरेको भागेश्वर गाउँपालिका–१ का रमेशबहादुर ठकुराठीको आरोप छ । जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको छ ।

कृषकले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरूले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपाल कृषि प्रधान देश भएकाले बाँदर न्यूनीकरणका लागि पहल गरेर कृषि उत्पादनमा जोड दिने अमरगढी नगरपालिका–८ का अध्यक्ष नरबहादुर साँकीको भनाइ छ ।

जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु, गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका विभिन्न वडामा बाँदर आतङ्कले मुख्य खाद्यबालीका रूपमा रहेको मकै बचाउन हम्मेहम्मे परेको छ । उता जङ्गली जनावरको आतङ्क न्यूनीकरणका लागि अजयमेरु गाउँपालिकाले वडा न २ मा तारजालीको व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष शिवराज भट्टले बताउनुभयो । जङ्गली जनावरबाट अन्नबाली जोगाउनका लागि गाउँपालिकाका ६ वटै वडामा तारजालीको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here