बिश्वका रेन्जरहरु नेपालमा

सौराहा । सौराहामा जारी नवौँ विश्व रेन्जर सम्मेलनमा सातवटा मूल विषयमा समुच्च र त्यसभित्रका साना विषयवस्तुमा समूहगत छलफल जारी रहेको छ । कात्तिक २६ गतेबाट शुरु भएको सम्मेलन नयाँ नेतृत्व चयन गर्दै चितवन घोषणापत्र जारी गरेर शनिबार सकिँदैछ ।

अन्तरराष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयृुक्त आयोजनामा एशियामानै पहिलोपटक नेपालमा सम्मेलन भएको हो । सम्मेलनमा नाम दर्ता गराउँदा प्रमुख सात विषयमध्ये कुनै पनि विषयमा केन्द्रित हुने गरी प्रस्तुतीकरण गर्नका लागि नाम दर्ता गरिएको थियो । सोहीअनुसार सहभागीले आफ्नो प्रस्तुतिसँगै छलफलमा सहभागी भइरहेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार संरक्षण क्षेत्रमा काम गर्नेको हकहित सुरक्षाका विषयमा प्रस्तुतीकरण र छलफल भइरहेको छ । ठूलो सङ्ख्यामा संरक्षणकै क्रममा ज्यान गुमाएको तथ्याङ्क छ । यस विषयमा क्षेत्रीयरुपमा प्रस्तुतीकरण भइरहेका छन् ।

रेन्जर र समुदायबीचको सम्बन्ध र यसले पारेको सकारात्मक प्रभावका बारेमा पनि छलफल जारी छ । अरु बढी लाभ लिन गर्नुपर्ने कामका बारेमा सहभागीले आआफ्नो धारणा राख्दै आएका छन् । यस्तै संरक्षणमा आदिवासी रैथाने समुदाय र यही समुदायका रेन्जरको भूमिका अर्को महत्वपूर्ण विषय रहेको छ । थपलियाका अनुसार यस विषयमा गरिएका विस्तृत अध्ययनलाई प्रस्तुतीकरणमा समावेश गरिएको छ ।

रेन्जरहरु सँगै, स्थानीय समुदाय, सरकार, गैरसरकारी संस्था र अन्य सरोकारवालाको क्षमता विकासका लागि गर्नुपर्ने विषयमा प्रस्तुतीकरण र छलफल भइरहेको छ । संरक्षणमा आधुनिक र नयाँ प्रविधि, संरक्षणमा महिलाको भूमिका र आगामी दिनमा संरक्षणकर्मी एवं रेन्जरले गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको छ । संरक्षणमा भएका सफलतालाई समावेश गरेर तयार पारिएका सफल कथा पनि सहभागीले प्रस्तुतिसँगै छलफलमा ल्याएका छन् ।

छलफलका क्रममा सङ्कलन गरिएका महत्वपूर्ण विषयलाई सबैमाझ पु¥याउन जर्नल प्रकाशन गरिने छ । थपलियाका अनुसार शनिबार नयाँ नेतृत्व चयन, आगामी सम्मेलनको टुङ्गो र चितवन घोषणापत्र जारी गरेर सम्पन्न हुने कार्यक्रम रहेको छ । सहभागीलाई जङ्गल सफारी, डुङ्गा सयर, थारु संस्कृतिलगायतका गतिविधिमा सहभागी गराइएको छ ।

सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सम्मेलनमा नेपालसहित ७२ देशका ५२६ प्रतिनिधि सहभागी भएका छन् । जसमध्ये विदेशीको सङ्ख्या ४८४ रहेको छ । सम्मेलन व्यवस्थापन गर्न नेपाली र विदेशी गरी ४० छुट्टै लागिपरेका छन् ।

सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको हो । पर्यटन वर्ष २०२० को सङ्घारमा सम्मेलन भएकाले कार्यक्रमको समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई आमन्त्रण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here