राजमार्गमै सुत्न थाले वन्यजन्तु

काठमाडौँ । लकडाउनका बेला सवारी साधनको आवत जावत पुरै बन्द जस्तै भएपछि बाँके राष्ट्रिय निकुञ्जभित्रका राजमार्गमा वन्यजन्तु सुत्न थालेका छन् ।

यस अघि निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्गमा आवतजावत गर्दा धेरै वन्यजन्तु दुर्घटनामा पर्ने गरेका थिए । जसका कारण बाँके र बर्दिया राष्ट्रिय निकुञ्जले राजमार्गमा हिड्ने सवारीसाधनको स्पिड नियन्त्रण गर्न ‘टाइम कार्ड’ प्रणाली सञ्चालन पनि गरेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जले त अहिले पनि यो प्रणाली सञ्चालनमा ल्याउँदै आएको छ ।

लकडाउनका अवधिमा राजमार्ग सुनसान भएपछि गस्ती जाँदा बिहान साँझ शितल भएको बेला बाटोमै जनावर सुतेको देखिन थालेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

प्रमोदकुमार भट्टराई, प्रमुख संरक्षण अधिकृत

उनले भने, अहिले राजमार्ग शान्त छ । साँझ, बिहान हामी गस्तीमा हिड्दा सडकका नाली, छेउछाउमा वन्यजन्तु सुतेको देख्दा छक्क पर्न थालेका छौँ । लामो समयसम्म राजमार्गमा ‘डिष्टर्ब’ नभएपछि राजमार्ग र जंगलका बीच कुनै फरकपन नपाउँदा वन्यजन्तु आनन्दका साथ राजमार्गमै सुत्न थालेका हुनसक्छन् ।

अहिले राजमार्गमा तलमाथि गर्ने वन्यजन्तुको संख्या पनि वृद्धि भएको छ । राजमार्ग उत्तर तर्फ घनाजंगल भएको वन्यजन्तुको संख्या बढी छ तर पानीको स्रोत राजमार्गको दक्षिण तर्फ भएकाले दैनिकजसो वन्यजन्तु राजमार्ग ओहोरदोहोर गर्छन् । निकुञ्जको दक्षिणीभेगमा मानव वस्ती भएकाले पानीको लागि राजमार्ग दक्षिण तर्फ आएको वन्यजन्तु बेला बेला शिकारीको निशाना पर्दै आएका छन् ।

प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार लकडाउनका अवधिमा सवारी साधन नचल्दा कति वन्यजन्तुले राजमार्ग वारपार गर्छन् भन्ने अध्ययन गर्न अहिले राजमार्गमा क्यामरा जडान गरिएका छन् ।

राजमार्ग शान्त भएपनि बाटो क्रस गरिरहेका साना वन्यजन्तु

पूर्व पश्चिम राजमार्गमा पाँच वटा र कोहलपुर सुर्खेत रत्न राजमार्गमा दुई वटा क्यामरा जडान गरिएका निकुञ्जले जनाएको छ । प्रमुख संरक्षण अधिकृत भट्टराइले भने, लकडाउनको शान्त अवस्थामा ती स्थानमा कति र कुन वन्यजन्तुले बाटो काट्दा रहेछन् र पछि लकडाउन खुलेपछि बाटो काट्ने वन्यजन्तुको संख्या कति थपघट हुन्छ भने दुबै खालको तुलनात्मक अध्ययन गर्नका लागि ती क्यामरा जडान गरिएका हुन् ।

बाँकेमा चोरी शिकार भन्दा पनि राजमार्ग दुर्घटनामा परी बढीजसो वन्यजन्तुको मृत्यु हुने गरेको छ । गत वर्ष मात्रै साना ठूलो गरी ३० वटा वन्यजन्तु सवारी दुर्घटनामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here