अबको युद्ध र राजनीति पानीमा केन्द्रित : विज्ञ

काठमाडौँ । नेपाल जलस्रोतको धनी देश भएपनि पानीको सदुपयोग हुन नसकेकोमा विज्ञहरुले जोड दिएका छन् ।

पानीको व्यवस्थापन, सदुपयोग गर्न सबै निकाय सम्वेदनशिल हुनुपर्ने र पानीको समान वितरणका लागि सरकारले नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७९ को अवसरमा राजधानीमा आयोजित कार्यक्रममा वक्ताहरुले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केबलप्रसाद भण्डारीले नेपालमा नीतिगत तहमा बस्ने व्यक्तिहरुले पानीको समस्यालाई संकटको रुपमा अझै बुझ्न नसकेको बताए । उनले भने, आर्थिक संकटले अलि अलि छोएको जस्तो छ तर पानीको अभाव र संकटले नेपालको राजनीतिक नेतृत्वलाई छोएको जस्तो लाग्दैन । राजनीतिक नेतृत्वलाई नछोएसम्म खासै परिवर्तन हुने पनि देखिदैन ।

संयुक्त राष्ट्रसंघीय दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि आम नेपाली नागरिकलाई पानीको पर्याप्त उपलब्धता पनि एक महत्वपूर्ण विषय भएको चर्चा गर्दै सचिव भण्डारीले भने, नेपालका शहरी क्षेत्रका बासिन्दाले अझै पनि पानीको हाहाकार भोगिरहनु परेको छ भने कसरी हामी त्यो लक्ष्य प्राप्त गर्न सक्छौँ ?

हाल नेपालमा प्रति दिन प्रति व्यक्ति एक सय लिटर पनि पानी पुगेको छैन भने भारतको नयाँ दिल्लीमा प्रतिदिन प्रति व्यक्ति २५० लिटर र बैँककमा ६०० लिटर पानीको उपलब्धता भइरहेको तथ्य उनले प्रस्तुत गरे । उनले भने, अबको युद्ध र राजनीति पानीमा हुने देखिएको छ । यसमा नेपालले बुझ्न सकेको छैन । यो नै विडम्बना हो ।


कार्यक्रममा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुशिलचन्द्र तिवारीले मानव जीवन पद्धतिको अभिन्न अंग पानी भएपनि नेपालमा पानीको अधिकतम सदुपयोग र उपलब्धता हुन नसकेको बताए ।

पानीको सदुपयोग गर्न नीति निर्माण तथा अध्ययन अनुसन्धानका लागि जल तथा ऊर्जा आयोगलाई सहयोग गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ÷संस्थाहरुले उनले आग्रह गरे ।

नेपाल संघीयतामा गइसकेपछि पानीको व्यवस्थापनका बिभिन्न विषयमा भएका अनुभव, अध्ययन अनुसन्धानलाई आदान प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

पानी दिवस र मौसम दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको सो कार्यक्रममा इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्च्यिूटका राष्ट्रिय प्रतिनिधि डा. मनोहरा खड्का, वाडर एड नेपालका राष्ट्रिय प्रतिनिधि तृप्ति राई, इसिमोडका प्रतिनिधि डा. अरुणभक्त श्रेष्ठ लगायतले बढ्दो तापक्रमका कारण नेपालका हिमाल संकटमा पर्न थालेकाले भविष्यमा नेपालमा पानीको संकट आउन सक्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपालको पानी व्यवस्थापनमा नीतिगत व्यवस्था र अभ्यासका विषयमा प्रा.डा. बिष्णु पाण्डे, नेपालमा पानी व्यवस्थापनका चुनौती, समाधान र पानी सुरक्षाका लागि नेपालका प्राथमिकताका विषयमा डा. मनोहरा खड्काले कार्यपत्र प्रस्तुति गरेका थिए ।

त्यसैगरी दीगो विकासको लक्ष्य प्राप्तिका लागि पानी सुरक्षाका विषयमा नेपालले लिएका नीतिगत व्यवस्थाका विषयमा डा. डोलप्रसाद चापागाईँ र आउँदो हप्ता अमेरिकामा आयोजना हुन थालेको विश्व पानी सम्मेलनमा नेपालले उठाउने एजेण्डा र तयारीका विषयमा सिँचाई विभागका उपमहानिर्देशक सञ्जिव बरालले कार्यपत्र प्रस्तुत गरे ।

जल तथा ऊर्जा आयोग र इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्च्यिूट लगायतका संघ÷संस्थाको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा भविष्यमा पानीको थप संकट हुन नदिन र पानीको बहुउपयोग गर्न हालसम्म भए, गरेका अध्ययन अनुसन्धान तथा असल अभ्यासलाई कार्यान्वायनमा ल्याउनु पर्नेमा जोड दिइयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here