मेलम्चीको धक्का तनहुँ हाइड्रोमा

काठमाडौँ । मेलम्ची खानेपानी आयोजना सम्पन्न नगर्दै काम छाडेको इटालियन निर्माण कम्पनी सीएमसीले अर्काे धक्का व्यहोर्नु परेको छ ।

मेलम्ची खानेपानी विकास समितिले सीएमसीलाई चिठ्ठी काटे लगत्तै तनहुँ हाइड्रो पावर लिमिटेडले २८ दिनको समयसीमा तोकेर काममा आउन भनेको थियो । पत्राचार गरेको समयसीमा सकिएपछि तनहुँ हाइड्रो पावर लिमिटेडले पनि उससँगको ठेक्का सम्झौता रद्द गरेको छ ।

साइटमा काम थाल्न २८ दिनको समय दिएर सूचना गर्दा पनि कम्पनी नआएपछि सम्झौता रद्द गरिएको लिमिटेडका प्रवन्ध निर्देशक प्रदीपकुमार थिकेले जानकारी दिनुभयो । लिमिटेडले मङ्गलबार टर्मिनेसन लेटर दिएको छ ।

तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध निर्देशक थिकेका अनुसार सीएमसीसँगको सम्झौता मंगलबारबाट तोडिएको छ । अब नयाँ प्रक्रियाबाट निर्माण कम्पनी छनौट गर्नेछौँ । हाइड्रो पावरको काम एसियाली विकास बैंक, जाइका लगायतका सहयागी संस्थाहरुसँगको छलफलपछि अघि बढाइने दावी थिकेले गर्र्नुभएको छ । सीएमसीले ठेक्का सम्झौता गर्दा एक अर्ब ९७ करोड रुपियाँ धरौटी पनि जफत गर्न तयारी भइरहेको छ ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माण गर्न सिएमसी छनोट भएको थियो । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपियाँ (मूल्य अभिवृद्धि करसहित) मा सम्झौता भएको थियो । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भइसकेको निर्देशक थिकेले बताउनु भयो ।

सन् २०२३ डिसेम्बरसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सीएमसी बाहिरिएपछि नयाँ ठेकेदार कम्पनी छनौटको लाग्ने समयले गर्दा आयोजनाको निर्माण गर्ने समय पनि लम्बिने भएको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख छ । जसमा एसियाली विकास बैंकले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकी डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) ले अमेरिकी डलर ८५ मिलियन र नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here