तनहुँ । यति बेथिति त न हिजो पञ्चाय, न त बहुदल, न त कांग्रेस न त एमाले कालमा भएको थियो । संघीयताका नाउँमा अहिले त कुनै एक ठाउँमा थिति बसेको भन्ने सुन्न र देख्न पाइदैन । प्राकृतिक सम्वेदनशिलता भएको ठाउँ होस् वा धार्मिक, सामाजिक संस्कार आँच आउने नै किन नहोस् । पैसा फल्ने ठाउँ भेटायो भने आफ्नै घर भत्किने नै गरी जथाभावी खनजोत, उत्खन्न तथा दोहन हुने गरेको छ ।
कुरो तनहुँको रिसिङ गाउँपालिका – ५ स्थित रुपाटार क्षेत्रमा काली गण्डकी नदी छेउछाउको हो । नदी किनारमा झट्ट हेर्दा बिहानको झिसमिसे देखि साँझको अँधेरीसम्म दर्जनौँ डोजर, ट्याक्टरले जथाभावी रुपमा ढुङ्गा, गिटी र वालुवा निकाल्ने गरेको देख्न पाइन्छ । तनहुँ र नवलपुर जिल्लाको सिमाना पर्ने यस ठाउँमा जथाभावीरुपमा एक्साभेटर, डोजर र ट्याक्टर मात्र प्रयोग भएका देखिन्छन् । यो क्षेत्र तनहुँ जिल्लाको विकट क्षेत्रमा मानिन्छ र प्रहरी, प्रशासनको आँखा कम पर्ने क्षेत्र मानिएकाले जथाभावी उत्खनन् गर्ने प्रवृतिलाई यहाँको दुर्गमाताले साथ दिएको छ ।
स्थानीय बासिन्दाको भनाईमा प्रहरी र प्रशासनका मिलेमतोमा यस्तो काम भइरहेको छ । दिनहुँ सयौँ ट्याक्टर नदीजन्य बस्तु निकालिन्छ तर प्रहरी प्रशासन मूकदर्शक भएर बसेको छ, स्थानीय महेन्द्र पौडेलले भन्नुभयो । पौडेले भन्नुभयो, यो बेथिति रोक्नेसँग नै ठेकेदारहरुको मिलेमतो चलिरहेको छ भने हामी सर्वसाधारण जनताले के नै गर्न सक्छौँ र ? हामीले बारम्बार भनि सक्यौँ तर कहिँ कसैको सुनुवाई हुदैन ।
रिसिङ गाउपालिकाका उपाध्यक्ष गिनुमाया थापाले अवैध रुपमा ढुंङ्गा, गिटी, वालुवा निकालिएको जानकारी भएको बताउनुभयो तर रोक्ने उपायका बारेमा केही बोल्न चाहानु भएन । यस अघि स्थानीय बासिन्दाले चर्काे आवाज उठाएपछि एक पटक कारवाहीको नाटक भएको स्थानीय गोबिन्द अर्याले बताउनुभयो । उहाँले भन्नुभयो, हामीले चर्काे आवाज उठाएपछि कारवाही गरेजस्तो गरेर केही डोजर तथा ट्याक्टरलाई जरिवाना गर्ने कार्य भयो तर पुनः आफ्ना धन्दा सुरु गरिहाले ।
रिसिङ गाउँपालिले अझै २ वटा घाटहरु ठेक्कामा लगाउन नसकिएको बताएको छ । नदीबाट सामान ढुवानी गर्न समस्या भएकाले ठेक्कामा लाग्न नसकेकोे रिसिङ गाउँपालिकाले जनाएको छ ।