सडकको धूलो टिप्ने मेसिन आए, अब काठमाडौँ सफा हुने

काठमाडौँ । चीनले उपहार स्वरुप दिने बचन दिएको शहरको फोहोर सरसफाईका लागि प्रयोग गरिने आधुनिक मेसिन ब्रुमर हालसम्म नदिएपछि काठमाडौँ महानगरपालिकाले आफैले ब्रुमर मेसिनहरु खरिद गरेको छ ।

काठमाडौँ उपत्यकाको सडकको धूलो व्यवस्थित तरिकाले टिप्नका लागि महानगरपालिकाले आठ करोड रुपियाँको लागतमा चार वटा ब्रुमर मेसिन इटालीबाट खरिद गरेर ल्याएको छ । गत साउन १५ गते चीनले महानगरपालिकालाई दुई वटा ब्रुमर मेसिन दिने घोषणा गरेको थियो तर हालसम्म ती मेसिन आउन सकेका छैनन् । ती मेसिनका चाभी त्यति बेलै काठमाडौँ महानगरपालिकाका अधिकारीलाई हस्तान्तरण गरेको भएपनि चैत लाग्दा सम्म ती मेसिन अझै चीनले दिन सकेको छैन ।

हाल इटालीबाट खरिद गरेर ल्याएका आधुनिक मेसिनको प्रयोगपछि काठमाडौँका सडक सफा हुने महानगरप्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।

मानिसको बढी आवतजावत हुने र बढी धूलो उड्ने स्थानहरु विशेष गरेर एयरपोर्ट, सिनामंगल, बानेश्वर, त्रिपुरेश्वर, टेकू, कालीमाटी, कलंकी, टुँडिखेल, सिंहदरबार, दरबारमार्ग, चक्रपथ लगायतका मुख्य सडक क्षेत्रका साथै स्वयम्भु, पशुपति, बौद्ध, हनुमानढोका जस्ता ऐतिहासिक सम्पदा क्षेत्रहरुमा हाल आयात गरिएका ब्रुमर मेसिनले सफाई गरिने पनि महानगर प्रमुख शाक्यले बताउनुभयो ।

महानगरपालिकाले इटालीबाट पाँच वटा ब्रुमर ल्याउने योजना बनाएको थियो । तर, ढुवानीमा समस्या हुँदा एउटा केही समय पछि ल्याइने प्रमुख शाक्यले बताउनुभयो । एउटा ब्रुमरलाई महानगरपालिकाले २ करोडभन्दा बढी खर्चेको बताइएको छ ।

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे छन् ।

जाडो सकिएसँगै फेरि काठमाडौंका सडकमा घाम लाग्दा बुङ्बुङ्ती धुलो थालेका छन् । पानी पर्दा हिलो हुने हुँदा काठमाडौंबासीले सास्तीमात्रै खेप्नु परेको छैन, वायुप्रदुषण पनि हृवात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here