माथिल्लो तामाकोसी: प्रसारण लाईन र सवस्टेसन निर्माणले गति लियो

चरिकोट । २०७३ साल साउनबाट उत्पादन शुरु गर्ने लक्ष्य राखेको दोलखाको विगु गाउँपालिकामा निर्माणाधिन बहुचर्चित माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाको लट नम्वर ४ को कामले गति लिएको छ ।

स्वदेशी लगानीमा बन्दै गरेको ४५६ मेघावाट क्षमताको आयोजनाको लट नम्वर ४ अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०/१३२ केभीको सवस्टेस निर्माणको कामले गति लिएको छ ।सो कार्यका लागि कुल २ अर्ब १२ करोड २५ लाख ४५ हजार ४०२ रुपैयाँमा सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी केइसी (KEC) इन्टरनेशनलसंँग सन २०१३ जनेवरीमा ठेक्का सम्झौता भएको थियो ।सम्झौता अनुसार आयोजनाको पावर हाउस क्षेत्र गोंगरदेखि रामेछापको देवीटारसम्म ४७ किलोमिटर प्रसारण लाइनका लागि १२७ वटा टावर बनाउनुपर्ने हुन्छ । जस मध्य १२० वटा टावर ढडिएको छ भने ३३ किलोमिटर तार तानिसकिएकोे आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो । प्रसारण लाइनको काम लगभग ८५ प्रतिशत सकिएको उहाँले दावी पनि गर्नुभयो ।

२२०/१३२ केभीको सबस्टेसनको भौतिक संरचना निर्माणको काम पनि धमाधम भइरहेको न्यापानेले बताउनुभयो । ढुवानीमा चुनौती मानिएका २२० केभीको जिआईएसका लागि आवश्यक सबै सामाग्री निर्माण स्थल आइसकेका छन् भने सवस्टेसनको सबै लाइनलाई व्यवस्थापन गर्ने कन्ट्रोल रुम भवनको काम पनि अन्तिम चरणमा पुगेको छ । ढुवानीमा कठिन मानिएको ४ वटा ट्रासफर्मर पनि ल्याएर ३ वटा फायर वाल खडा गरि जडान गरिसकेको आयोजनाका उहाँले बताउनुभयो । सवस्टेसन स्थित ग्यान्ट्री टावरको (Gantry tower) फाउन्डेसनको काम सकिएको बताउदै उहाँले बाँकी रहेको इरेक्सन र कमिस्निङ (commissioning)को काम पनि छिट्टै सक्ने दावी गर्नुभयो ।

मन्थली नगरपालिका वडा नम्बर १३ देविटारमा निर्माणाधिन सवस्टेसनले गाेंगरबाट २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई जिआईएसबाट २२०/१३२ को ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाईनबाट पनि राष्ट्रिय प्रसारणमा जोड्नेछ ।

न्यू खिम्ती नाम दिएको यो सवस्टेसनमा गज्र्याङ हाइड्रोपावर, खिम्ती २ हाइड्रोपावर, लिखु १ हाइड्रोपावर, लिखु २ हाइड्रोपावर, लिखु ३ हाइड्रोपावर र लिखु ४ हाइड्रोपावरबाट उत्पादन हुने विद्युतलाई समेत जडान गरि राष्ट्रिय विद्युत् प्रणालीमा आवद्ध गराईने भएको छ ।

लट २ अन्तर्गतको हाइड्रोमेकानिकल कामको जिम्मा पाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल एण्ड इञ्जिनियरिङले काम गर्न नसकेपछि नौ महिना थप गरिएको थियो र सो समयावधिमा पनि काम पूरा नहुने भएपछि अहिले २०७६ कात्तिकसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ ।

भूकम्प र नाकाबन्दी, अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने प्रशासनिक खर्चलगायतका कारण ३५ अर्ब २९ करोड ४१ लाख अनुमानित लागतसमेत बढेर ब्याजसहित लागत दोब्बर हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here