अख्तियारको फन्दामा परेका लामासँग थप शंकास्पद रकम भेटियो

सुर्खेत । शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका सुर्खेत स्थित डिभिजन वन कार्यालयका प्रमुख भक्तबहादुर लामासँग थप शंकास्पद ५ लाख ५० हजार रकम भेटिएको छ ।

शुक्रवार रंगेहात पक्राउ परेको डिएफओ लामाको क्वाटरमा रहेको दराजमा खानतलासी गर्दा थप शंकास्पद रकम भेटिएको अख्तियारले जनाएको छ ।

बिहीवार टेलिफोन सम्पर्कमा डिएफओ लामाले शुक्रवार बिहानका लागि भेट्ने समय दिएको व्यक्ति काठ ठेकेदारले आफु भेट्न नआएर अरु दुई जना केटालाई झोलामा पैसा दिएर डिभिजन वन कार्यालयमा पठाएको थियो । ती दुई जना केटा झोलामा रकम बोकेर बिहान १० बजे तिर नै वन पसिसरमा पसिसकेको थाहा भएको छ ।

ती अपरिचित केटाहरुले लामाको क्वाटरमै जाने प्रयास गरेका थिए तर अरु स्टापले माथि क्वाटरमा जान दिएका थिएनन् । तर काठ ठेकेदोरले वन परिसर बाहिरबाट आफुले पठाएको केटा र डिएफओ लामाका गतिविधि हेरिरहेको थाहा भएको छ । एक कर्मचारीका अनुसार धेरै बेरसम्म वन कार्यालयको हाता बाहिर देखिएको ती ठेकेदार निकै बेरपछि मात्र कार्यालय प्रवेश गरेका थिए ।

अख्तियारको टोलीले कार्यालयमा छापा हानेपछि लामाको निवासमा पनि थप केही प्रमाण भेटिन सक्ने भन्दै खानतलासी गरिएको थियो । डिएफओ लामाको क्वाटरको दराजबाट साढे पाँचलाख शंकास्पद रकम थप फेला परेको बताइएको छ ।

शुक्रवार बरामद भएका एक हजार दरका ४०० नोट (चार लाख रुपियाँ) गिन्तिगर्न र मुचुल्का उठाउन पाँच घण्टा लगाएको अख्तियारको टोली थप शंकास्पद रकम फेला पारेपछि थप अनुन्धानतर्फ मोडिएको छ ।

सुर्खेत स्थित अख्तियार स्रोतका अनुसार शनिवार लामालाई छानविनका लागि काठमाडौँ पठाउने तयारी भएपनि थप रकम भेटिएकाले प्रारम्भिक काम लम्बिएको छ । शुक्रवार राती लामालाई सुर्खेतको प्रहरी कार्यालयमा राखिएको थियो । लामाले वन कार्यालयमा बस्न पाउनु पर्ने अनुरोध गरेपनि अख्तियारले नमान्दा प्रहरी कार्यालयमा बस्नु परेको बताइएको छ ।

शनिवार थप शंकास्पद रकमको प्रारम्भिक अनुसन्धान र मुचुल्का तयार भएपछि सम्भवतः आज साँझ लामालाई काठमाडौँ पठाइने भएको छ । यो समाचार तयार पारुन्जेल सम्म ( दिउँसो २ बजेसम्म ) थप भेटिएको रकम डिएफओ लामाले आफ्नो नभएको बताउँदै आएको कुरा अख्तियार स्रोतले बताएको छ ।

काठको पूर्जिको म्याद थप र नयाँ छुट पूर्जिको विषयमा लामाले रकम माग्दा घुस वापत काठ ठेकेदारले रकम दिने क्रममा रंगे हात डिएफओ लामा समातिएका अख्तियारले बताएको छ ।

ती काठ ठेकेदारका विगतका गतिविधि पनि शंकास्पद रहेका र बिभिन्न जिल्लामा वन कर्मचारीसँग मिलेर अकुत सम्पत्ती कमाएको विषयमा ती ठेकेदारलाई सम्पत्ती शुद्धिकरण तर्फ छानविन गर्ने तयारी पनि भइरहेको बताइएको छ भने बाँके, दाङ र सुर्खेत जिल्लामा कामगर्ने गरेको ती ठेकेदारसँग सम्बन्ध भएका अन्य वन कर्मचारीलाई पनि छानविनको दायरा ल्याउने तयारी भइरहेको अख्तियार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here