काठमाडौँ । भारतको कलकत्तामा नयाँ उडान भर्ने लक्ष्यका साथ बुद्धले १ अर्ब रुपैयाँमा नयाँ विमान खरिद गरेको छ। सो विमान मार्च दोस्रो साता फ्रान्सबाट काठमाडौं आइपुग्ने बुद्ध एअरले जनाएको छ ।
खरिद गरिएको विमान ७२ सिट क्षमता रहेको छ। बुद्ध एयरका अनुसार विमान काठमाडौं ल्याएपछि केही दिन रंगरोगन र सिट मिलाउने काम गरिनेछ।
बुद्धका बजार निर्देशक रुपेश जोशीले विमान नेपाल ल्याउनका लागि शनिबार नौ जना क्याप्टेन तथा इन्जिनियरको टोली फ्रान्स जाने जानकारी दिनुभएको छ । जोशीका अनुसार बुद्धले अप्रिल १ अर्थात् चैत १८ गतेबाट भारतको कलकत्तामा नयाँ उडान सुरु गर्नेछ। साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन कलकत्ता उडान भर्ने योजना बुद्धको छ। यसका लागि भारतमा बजार व्यवस्थापनको काम समेत बुद्धले सुरु गरिसकेको जनाएको छ।
हाल उक्त एयरले भारतको बनारसमा सोमबार र शुक्रबार गरी साताको दुई दिन अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। अन्तर्राष्ट्रिय उडान विस्तारकै सिलसिलामा बुद्धले भारतको कलकत्ताबाट नयाँ उडान भर्न लागेको हो।
आन्तरिक उडानतर्फ ५२ प्रतिशत बजार हिस्सा ओगटेको बुद्धले हाल ११ विमानबाट दैनिक दर्जनभन्दा बढी गन्तव्यमा उडान भर्दै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कलकत्तासम्मको हवाइ दूरी १ घण्टा ३० मिनेटको हुनेछ।
बुद्ध एयरले कलकत्ता उडान हप्तामा तीनवटा बनाउनुको मुख्य उद्देश्य पर्यटक भित्र्याउने रहेको जोशीले जानकारी जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुमध्ये ६० प्रतिशतभन्दा बढीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरिरहेको अवस्थामा बुद्ध भने पर्यटक केन्द्रित भएको हो।
जोशीले भन्नुभयो, ‘बुद्ध एयरलाइन्सले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा भारतबाट नयाँ पर्यटक ल्याउने योजना बनाएको छ। नेपाल पर्यटन बोर्डको लोगो राखेर भारतीय पर्यटक नेपाल ल्याउने योजनाका साथ प्रचारप्रसार गरेका छौँ ।’
सन् १९९७ अक्टोबरबाट उडान सुरु गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ। ‘विच १९००डी’ विमानबाट उडान सुरु गरेको बुद्धसँग हाल ११ विमान रहेका छन्। नयाँ विमान फ्रान्सबाट ल्याएपछि बुद्धले १२ विमानबाट उडान भर्नेछ। सन् २०१८ मा आन्तरिकतर्फ सबैभन्दा बढी २८ हजार ८ सय ८१ पटक उडान भरेको छ । उक्त उडानमा बुद्ध एयरले १३ लाख २५ हजार ४ सय ९ यात्रु बोकेको छ।
हाल कम्पनीको ६ वटा ७२ सिटे एटीआर, तीनवटा ४२ सिटे एटीआर र दुईवटा १८ सिटे बीच क्राफ्टलगायत ११ वटा जहाजले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत, तुम्लिङटार, भरतपुर, पोखरा गरी ११ क्षेत्रमा उडान भर्दै आएका छन्। बुद्धले माउन्टेन क्षेत्रका आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ।
नयाँ खरिद गरिएको ७२ सिटे एटीआर विमानसहित बुद्धको कुल सिट क्षमता ६ सय ६६ सिट पुगेको छ।